आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

विद्युत लाइन काटिएका उद्योगका मजदुरहरु विरोध प्रदर्शनमा

    प्रकाशित २०८० पौष ११, बुधबार (४ महिना अघि)


बारा । नेपाल विद्युत प्राधिकरणले ६६ केभिए बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल लिमिटेड, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् ।मजदुरहरुले आइतबारदेखि नै विरोध गर्दै आए पनि आज बुधबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध र्‍याली प्रदर्शन समेत गरेका थिए । त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

जगदम्बा स्टिलमा पुस ५ गते शुक्रबार बेलुकादेखि विद्युत अवरुद्ध भएको र पुर्णरुपमा काम बन्द भएको र्‍यालीमा सहभागी एक मजदुरले बताए ।जगदम्बा स्टिलमा करिब ३ हजार २ सय, त्रिवेणी स्पिनिङमा करिव १ हजार ३ सय र हुलास स्टिलमा करिव १ हजार ५ सय मजदुरहरु कार्यरत छन् ।

आ–आफ्ना कारखानाबाट “बेरोजगार गराउन पाइदैन” “बन्द उद्योग खुला गर” “विद्युत आपूर्ति सुचारु गर” लगायतका प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै मजदुरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन् ।

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको थियो । खासगरी ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत् प्राधिकरणले एकलौटी निर्णय गर्दै कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।

Write your Comment