आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

गैंडाकोटको पाते ढिँडोको सेवा अब भरतपुरबाट पनि

    प्रकाशित २०८० मंसिर १४, बिहिबार (५ महिना अघि)


भरतपुर ।दुई दशकअघि गैँडाकोट नगरपालिका–९, थुम्सीलाई पाते ढिँडोले चिनायो । ढिँडो खान थुम्सी जाने क्रम सुरु भयो । राजमार्गका यात्रुमात्र नभई गैँडाकोट, नारायणगढ, भरतपुर र आसपासका क्षेत्रबाट ढिँडो खान थुम्सी पुग्नेको लर्को लाग्न थाल्यो । पाते ढिँडो सुरु गरेका बृखलाल गुरुङ भन्छन्, ‘२०५६ सालको मंसिर १७ गते पाते ढिँडो सुरु भएको थियो । २४ वर्ष पूरा हुनै लाग्दा भरतपुर महानगरपालिका–१० मा पहिलो शाखा खोलेका छौँ । मंसिर १७ गते आइतबारदेखि भरतपुरबाट पाते ढिँडोको विशिष्ट सेवा उपलब्ध हुनेछ ।’

अढाई दशकअघि थुम्सीमा खुलेको पाते ढिँडो होटल एण्ड रेष्टुरेण्ट भरतपुर शाखासम्म आइपुग्दा पाते ढिँडो एण्ड बिच रिसोर्ट प्रा.लि. भएको छ । ‘थुम्सीमा नारायणी किनारमा होटल रहेकोले पाते ढिँडो नामसँगै बिच रिसोर्ट थपेका हौँ’ भरतपुर शाखाबाट सेवा सुरु गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले भने । उनले भरतपुर शाखा पहिलो आधिकारिक शाखा भएकोसमेत प्रष्ट पारे ।

पाते ढिँडो भरतपुर शाखा संचालक पर्यटन व्यवसायी मीनबहादुर गुरुङले गुरुङ भाषामा पातेको अर्थ माइली छोरी हुने जानकारी गराउँदै भने, ‘हामीले रिसोर्टको लुक्सलाई फरकपन दिने कोशिस गरेका छौँ । रिसोर्टमा प्रवेश गर्नेबित्तिकै काउण्टर अगाडि भुइँमा घरेलु रक्सी बनाइरहेकोजस्तो सांकेतिक दृश्य देख्न पाइन्छ । घरेलु रक्सीलाई ब्रान्डिङ गरी दर्ता गरेर विदेशी रक्सीको खपत कम गराउनु पर्छ भन्ने सन्देश पनि हो ।’

बजारमा पाते ढिँडोको नाममा धेरै होटल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताउँदै गुरुङले भने, ‘हाल पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटल खोली आमग्राहक महानुभावहरूमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। र, हामीले पहिलोपटक शाखा खोलेको जानकारी गराउँछौँ ।’

नाम अनुसार पाते ढिँडोमा मकै र फापरको ढिँडो त पाइन्छ नै, अन्य परिकार पनि पाइने बताइएको छ । कुखुरा, खसी, बंगुर, राँगाको मासुका सेकुवालगायत विविध परिकार पाइने रिसोर्टले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । करिब दुई करोड रुपैयाँ लगानीमा सुरु भएको पाते ढिँडोको भरतपुर शाखाले हाल २२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । मंसिर १७ गते सफ्ट ओपनिङ र जनवरी १ अर्थात् पुस १६ गते ग्रान्ड ओपनिङ गर्दैछ । देशका प्रमुख शहरहरुमा थप शाखा खोल्ने लक्ष्य लिइएको अध्यक्ष बृखलाल गुरुङले बताए ।

उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उनको भनाइ छ । ढिँडोसँगै धराने बङ्गुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए । साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सयजना सम्मको क्षमता भएको सुविधा सम्पन्न वातानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकुलीत (एसी) डाइनिङ हलकोसमेत सुविधा थप गरिएको उनको भनाइ छ ।

Write your Comment