आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैंडा मारे

    प्रकाशित २०८० मंसिर १, शुक्रबार (५ महिना अघि)


चितवन।चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैंडा मारेका छन् ।निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई पोथी गैंडा मारेको अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार दुई पोथी गैंडा अन्दाजी १८ र ६ बर्षका छन् ।दुवै गैंडाको खाग तस्करले लगेको तिवारीले बताउनुभयो । बिहिबार दिउँसो १२ बजे गैंडा मृत भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खबर गरिएको थियो । अहिले निकुञ्जका प्राविधिकले गैंडाको पोष्टमाटम गरिरहेका छन् ।तस्करले एक सय मिटरमा दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग लगेको पाइएको तिवारीले बताउनुभयो । गैंडा तिहारको मौका पारेर केही दिन अगाडि मारेको हुनसक्ने आशंका गरिएको छ ।

चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक बर्षमा मात्रै विभिन्न कारणले आठ वटा गैडाको मृत्यु भएको छ । चितवन निकुञ्जमा ६९४ गैंडा रहेको तथ्यांक छ ।

Write your Comment