आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

हुप्सेकोट गाउँपालिकामा खेती योग्य जमिन बाँझो राख्न नपाईने

    प्रकाशित २०७९ भाद्र २६, आईतबार (१ साल अघि)


बिष्णु गौडेल,हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा कृषि योग्य जमिन खेती नगरी लागातार २ बर्षसम्म बाँझो राख्न नपाईने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संसोधीत ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषि योग्य जमिनहरु बाँझो रहेको खण्डमा कुनै फर्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनु पर्ने उल्लेख गरिएको छ ।

गाउँपालिका क्षेत्रभित्र कृषि योग्य जमिनहरु लगातार २ बर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिए वमोजिमको जरिवाना लगाउन सक्ने जनाइएकोछ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यस्तो निति अख्तियारी गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयो । कृषि क्षेत्रमा विभिन्न तालिम, बिना धितो ऋण, अनुदान सहितको कार्यक्रमहरु सञ्चालन गरिएकाले कुनै पनि खेति योग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेले बताउनुभयो । कृषि तथा पशु पालनका क्षेत्रमा गाउँपालिकाले विशेष बजेट व्यवस्था गरेको बताउँदै दुद्य उत्पादन र पशुपालनमा पनि अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन बैठक नम्बर २ ले हुप्सेकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संसोधन प्रस्ताव सहित तीन वटा ऐनलाई पारित गरेको छ । गाउँसभाले हुप्सेकोट गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०७९ र हुप्सेकोट गाउँपालिकाको स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन २०७७ संसोधन विधेयक २०७९ सभाबाट पारित गरेको हो । विधेक समितिका सभापति पदम बहादुर रानाले पेश गर्नु भएको विधेयकहरु सभाले सर्वसहमतिले पारित गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले घोषणा गर्नु भएको हो ।

त्यसैगरी सभामा विशेष समय लिएर बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष प्रेम थापाले प्रदेश मार्ग अन्तर्गतको डण्डा झ्यालवास सडक खण्ड विस्तारका लागि बजेट विनियोजन भएको भए पनि कार्य सुरु नभएकाले बाटो विस्तारको पहल गर्न सभामा अनुरोध गर्नु भएको थियो । झ्यालवास डण्डा सडक खण्ड भएर हुप्सेकोटका सर्वसाधारण नियमित आवतजावत गर्नु पर्ने एवम् मुख्य मार्ग रहेकाले विस्तारका लागि तत्काल पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले झ्यालबास डण्डा सडक खण्डको बिच भागमा जंगल रहेको हुँदा कार्य सञ्चालनमा समस्या भएको सुनिएकाले छिटो बाटो विस्तारको कार्य सुरु गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने संकल्प प्रस्ताव पारित गरिएको घोषणा गर्नु भएको थियो । त्यसैगरी हुप्सेकोट गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पहल एवम् व्यवस्था गर्न वडा नम्वर ३ का वडा अध्यक्ष बिष्णु रानाले अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी गाउँसभाले गाउँ कार्यपालिका अन्तर्गतको तीन वटा समितिलाई पुर्णता दिएको छ । गाउँ कार्यपालिकाको सार्वजनिक लेखा समितिको सभापति लिला बहादुर ठाडा, सदस्यमा कमला विक र याम बहादुर रजाली लाई चयन गरिएको छ । सुशासन समितिको सभापतिमा रेनुमाया मिथुन सदस्यमा देवी नेपाली र सुन बहादुर खाम्चालाई चयन गरिएको छ । विधायन समितिको सभापतिमा बुद्धिमान तामाङ, सदस्यमा तुलसी बिक र गंगाप्रसाद वयम्वुलाई चयन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले घोषणा गर्नुभयो ।

Write your Comment