आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

बुटवल–नारायणगढ खण्डमा जताततै खाल्डैखाल्डाको धराप

    प्रकाशित २०७९ अषाढ १८, शनिबार (१ साल अघि)

नारायण शर्मा,नवलपुर । पूर्व–पश्चिम महेन्द्रराजमार्गको बुटवल–नारायणगढ खण्डमा खाल्डैखाल्डाको धराप बनेको छ । राजमार्गका ठूल्ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्‌को पानी जमेर यात्रा कष्टकर बनेको छ ।

राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले खाल्डाहरुमा ग्राभेल नहालेका कारण पानी भरिएर कहाँ डुबिने हो भन्ने चिन्ता उत्तिकै छ । साना सवारी र दुई पांग्रेका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था छ । राजमार्गका खाल्डामा पानी र हिलोले हिँड्नै नसकिने अवस्था भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिँदा राजमार्गका खाल्डा २४ घण्टाभित्र पुर्नुपर्ने सर्त लिएपनि त्यसको पालना गरेको छैन । राजमार्गमा कामको गुणस्तर हेर्ने सडक विभागका कर्मचारीले जिम्मेवारी पूरा गरेका छैनन् । महेन्द्रराजमार्गको बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटरका प्राय:जसो ‍ठाउँमा खण्डा नै खाल्डा छन् । यो क्षेत्रमा दर्जनौं डाइभर्सन(अस्थायी सडक) रहेका छन् ।

रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ । खाल्डामा जमेको पानीले छयाप्दा दुई पांग्रे सवारी चालकको बिजोग हुने गरेको छ । कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न २ घण्टाभन्दा बढी समय लाग्छ । खाल्डामा भरिएको हिलो र पानी छयापिएर हिँड्नै नसक्ने अवस्था छ ।

‘ठेकेदारले गरेको कामको गुणस्तर हेर्ने निकाय छैन, कि त ती पनि बिकेका छन्,’ धनगढीबाट काठमाडौं हिँडेका चालक अर्जुन विष्टले भने, ‘देशकै लाइफलाइन मानिएको यो सडकको दुरावस्था भएको ३ वर्ष भइसक्यो । कसैलाई मतलब नै छैन ।’

निर्माणका क्रममा बनाइएका अस्थायी सडकमा पानीले निकास नपाउँदा बाटो बगाउने गरेको हो । असार सुरु भएपछि दिनहुँजसो परेको पानीले सडक हिलाम्य छ । खाल्डामा जमेको पानीले निकास नपाउँदा साना गाडी चुर्लुम्म डुब्ने गरेका छन् । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूल्ठूला खाल्डा बनेका छन् । डाइभर्सन सडक दिनहुँ बगाउँदा सास्ती बढेको छ ।

बुटवल–नारायणगढ सडक योजना अन्तर्गत दाउन्ने गैंडाकोट खण्डका प्रमुख रमेश दृष्टि राजमार्ग असारअघि पुर्ने सम्झौता भएको बताउँछन् । वर्षात्‌ले पनि काम फटाफट हुन नसकेको उनको दाबी छ । उनले भने, ‘खाल्डा असारअघि वा दसैंअघि पुर्ने हो । काम गर्दा गर्दै भ्याइएन भन्दै योजना प्रमुख दृष्टि उम्किन खोजे ।’ चिनियाँ ठेकेदार कम्पनीले सडक बिस्तार गर्ने म्याद दुई वर्ष थप्न माग गरेको उनले सुनाए । ‘त्यसमा उनीहरुले भनेजति नै समय त थपिँदैन केही समय थप्न सक्छ,’ उनले भने । सडक विभागले निर्णय गर्ने भएकाले कति समय थपिन्छ भन्नेमा आफू अनभिज्ञ रहेको उनले सुनाए ।

वर्षामा आएको बाढीले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा खाल्डैखाल्डा छन् । पुल र कल्भर्ट भएका स्थानको काम नसकेका कारण डाइभर्सन सडक बनाइएको छ । त्यहाँ बाढीले निकास नपाउने भएकाले वर्षा हुनासाथ बगाउने गरेको छ ।

Write your Comment