आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

    प्रकाशित २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)


काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्ने निधो गरेका रवि लामिछानेले आज राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौं सभा गृहमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् भने स्वतन्त्र उम्मेदवारी घोषणा गरेका र देशलाई नयाँ ढंगबाट हेर्न चाहने सबैलाई आफ्नो दलमा आउन आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिनेहरु प्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गर्नुपरेको उनले सुनाए ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने र प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।
यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

लामिछानेले यस पार्टीको भ्रातृ संगठन नबनाउने र कार्यकर्ता पनि नहुने घोषणाा गरे । र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने समेत जिकिर गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा रहने उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरिएको छ। अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’

सभागृहको घोषणा सभापछि उनले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका छन्।

दल दर्ताको निवेदन आयोगमा बुझाएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले पार्टी सभापति आफू भएको बताए।

‘यो दलको सभापति म छु,’ उनले भने, ‘हाम्रो टिमले मलाई सभापति चुनेको छ। हामी २१ जना छौं।’

उनले दल दर्ताका लागि निवेदन दिँदा अरू क-कसको नाम समावेश गरेका छन् भन्नेबारे खुलाउन चाहेनन्। आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने उनले बताए।

‘देशले चिनेको नहुन सक्छ, देशलाई चिनेको व्यक्तिहरू हुनुहुन्छ,’ उनले भने, ‘दलको सभापति म छु। अरू को-को भन्ने दल दर्तापछि मात्रै बाहिर ल्याउँछौं।’

उनले समावेशी हुने गरी दल दर्ताका लागि निवेदन दिइएको बताएका थिए। साथै उनले एक वर्षपछि पार्टीले महाधिवेशन गर्ने बताएका छन्। उनले संवैधानिक समाजवादको सिद्धान्तलाई पार्टीले अंगाल्ने पनि बताएका छन्।

 

Write your Comment