आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

बालिका अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध

    प्रकाशित २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि)


ललितपुर । अन्तर्राष्ट्रिय बालिका दिवस ११ अक्टोबर २०२१को सन्दर्भमा Digital Generation, our Generation” (डिजिटल पुस्ता, हाम्रो पुस्ता) भन्ने अन्तर्राष्ट्रिय नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा सरोकारवाला र बालिकाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका तर्फबाट मन्त्रालयको सचिव यमकुमारी खतिवडाले नेपाल सरकार सदैव बालिका तथा समग्र बालबालिकाको अधिकारको सुनिश्चितताका लागि प्रतिवद्ध रहेको कुरा बताउनु भएको थियो । परिषद् सदस्य श्री इन्दिरा योञ्जन, मन्त्रालयका माहाशाखा प्रमुख श्री उमेश ढुङ्गाना, पत्रकारहरु, नागरिक सङ्गठन सञ्जालका अध्यक्ष, संयोजक तथा प्रतिनिधि र बालबालिका सहितको उपस्थितिमा बालिका प्रतिनिधि श्री पवित्रा लकाईले बालिकाका समसामयिक विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने नागरिक संघसङ्गठनका तर्फबाट बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाका सवालहरुको उठान र सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा सञ्जालका तर्फबाट आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख ढुङ्गाना र कार्यकारी निर्देशक धरेलले बालिका दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै बालिकाहरुको अधिकार संरक्षण र प्रवर्द्धन तथा विकासका लागि सबैजना लाग्नुपर्ने विषयमा जोड दिनु भएको थियो ।

कार्यक्रममा सडक बालबालिकाका लागि राष्ट्रिय बाल अधिकार परिषद्ले खेलकुदमा अग्रसर गराउनका लागि थालनी गरेको सडकदेखि रङ्गशालासम्म कार्यक्रमको परिषद् र नेपाल रग्बी संघ बीच सम्झौता हस्ताक्षर र राष्ट्रिय बाल दिवस भाद्र २९ को अवसरमा मन्त्रालय र परिषद् द्वारा आयोजित “संघीय नेपालमा बाल अधिकार” विषयक भिडियो निर्माण कार्यक्रमका प्रथम र द्धितीय स्थान हासिल गर्न सफल बालबालिकालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रमको सञ्चालन परिषद्को परियोजना अधिकृत देबकी आचार्यले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय बालिका दिवस १९ डिसेम्बर २०११मा बसेको संयुक्त राष्ट्र संघीय साधारण सभाको विशेष प्रस्ताव (Resolution) ६६/१७० अनुसार सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ तारिखका दिन यो दिवस मनाउने निर्णय गरेको थियो । सन् १९९५ मा बेइजिङमा भएको महिलासम्बन्धी विश्व सम्मेलनको बेइजिङ घोषणापत्रले महिला तथा बालिकाहरुको अधिकारको उठान गरेको थियो भने बालिका दिवसको अभियान “किनभने म बालिका हुँ” भन्ने अवधारणाका साथ सुरुवात भएको थियो । विशेष गरी बालिका अधिकारको मान्यतालाई स्थापित गर्न र विश्वभरका बालिकाहरुले भोग्नु परेको चुनौतीलाई सामना गर्ने उद्धेश्यका साथ यो दिवस मनाउन थालिएको हो । यो दिवसको अवसरमा संसारभरी बालिका अधिकारलाई प्रवर्द्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरीबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने उद्देश्य सहित यो दिवस मनाउँदा बालिकाहरुको भविष्य उज्ज्वल हुने तथा बालिका सशक्तिकरणको मूल अभिप्राय भएका कारण हाल विश्वभरी नै यस दिवसका उपलक्ष्यमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारा कायम गरी यो दिवस मनाउने गरिएको छ । सोही अनुरुप विश्वमा नै विज्ञान, प्रविधि, इन्जिनियरिङ, म्याथम्याटिक्स लगायतका प्राविधिक विषय वस्तुमा बालिकाहरुको पहुँच कम भएको तथा बालिकाहरुलाई प्राथमिकतामा नपरेका कारण यस वर्षको बालिका दिवसको अन्तर्राष्ट्रिय नारा डिजिटल पुस्ता, हाम्रो पुस्ता भन्ने नाराका साथ सप्ताह व्यापिरुपमा मनाउन लागिएको छ ।

Write your Comment