आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

वक्तृत्वकला प्रतियोगितामा सहभागीलाई मेडल तथा प्रमाणपत्र वितरण

    प्रकाशित २०७८ आश्विन १, शुक्रबार (२ साल अघि)


ज्ञानु पंंगेनी,नवलपुर । अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२१ को अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीद्धारा आयोजित राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो ।
गत असार १० गते भर्चुअल माध्यमबाट भएको उक्त प्रतियोगितामा नवलपुर जिल्लाबाट सहभागी भएका विद्यार्थी तथा विद्यालयलाई बिहीबार कावासोतीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर मेडल तथा प्रमाणपत्र वितरण गरिएको हो । नवलपुरबाट प्रतिनिधीत्व गरेका १६ वटा विद्यालय र ३२ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रतियोगितामा नवलपुरका तिन विद्यालय टप टेन भित्र पर्न सफल भएका थिए । तेश्रो स्थान प्राप्त गर्न सफल जनक मा.वि. गैडाकोटका सुदर्शन ढकाल , आठौँ स्थानमा पर्न सफल नवलपुर आवासीय मा.वि. मध्यबिन्दुकी गृष्मा पाठक र १० औँ स्थानमा पर्न सफल भीमसेन आदर्श मा.वि. देवचुलीका विक्रम गिरीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्ल , कावासोती नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्ती , कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी , सिद्धार्थ आवासीय मा.वि.का प्रिन्सीपल भोजराज दाहाल , रेडक्रश सोसाईटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारी लगायतको आतिथ्यता कार्यक्रममा थियो । कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले विद्यार्थी तथा शिक्षकहरुलाई अबिर लगाएर मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ पंगेनीले विभिन्न खेलकुद तथा प्रतियोगिताहरुले विद्यार्थीलाई अनुशासनमा रहन सिकाउने बताउनुभयो । कोभिड संक्रमणले गर्दा बालबालिकाहरुलाई मानसिक रुपमा समेत असर पारेको समयमा प्रविधीको प्रयोग गरेर भएको प्रतियोगिताले उनीहरुको सृजनामा सहयोग पुर्‍याउने काम गरेको बताउनुभयो । विभिन्न खेलकुद र प्रतियोगिताहरुले शारिरीक र मानसिक स्वास्थ्य राम्रो हुने बताउनुभयो । विभिन्न प्रतियोगिताहरुले उनीहरुको मनोबल वृद्धि र आत्मविश्वास वृद्धि गराउने काममा टेवा पुग्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष पुनले खेलकुद परिषदले कोभिड महामारीले खेलकुद क्षेत्र निश्क्रिय भएको अवस्थामा भचूअल माध्यमबाट नै भएपनि विभिन्न प्रतियोगिता राखेर मानसिक रुपमा पनि सक्रिय बनाउनुपर्छ भन्ने उदेश्यले यस किसिमको कार्यक्रम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा संक्रमण न्युनिकरण भएपछि भौतिक रुपमै खेलकुद प्रतियोगिताहरु राखेर खेलाडीको अग्रसरता बढाउने बताउनुभयो । उहाँले प्रतियोगिताका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भएको भन्दै यथार्थ नबुझ्दा बाहिरबाट त्यस्ता कुरा आएको बताउनुभयो । उहाँले कुनै पनि विषयमा सत्यतथ्य कुरा बुझेर मात्रै टिकाटिप्पणी गर्न समेत अनुरोध गर्नुभयो ।

Write your Comment