आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

१६ बर्षे बालिका बनिन् गाउँपालिका अध्यक्ष

    प्रकाशित २०७८ भाद्र ३०, बुधबार (२ साल अघि)


प्रदेश नम्बर १ मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएको छ । ५७औं राष्ट्रिय बालदिवसको अवसर पारेर मंगलबार उक्त जिम्मेवारी दिएको हो ।

देशब्यापी रुपमा बिभिन्न कार्यक्रम गरेर बाल दिवस मनाइरहदा बूढीगंगा गाउपालिकाले भने बालिकालाई सशक्तिकरणको नमुना ठान्दै गाउपलिकाको अध्यक्ष निउक्त गरेको छ ।
स्थानीय तहमा हुने काम कारबाहीका बारेमा बालबालिकालाई पनि जानकारी दिने उद्देश्यले बालदिवसको अवसरमा एक दिनको अध्यक्ष बनाएका हौं, प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लभ बरालले भने, ‘उनीहरूले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेका छन् भन्ने स्पष्ट हुन पनि पालिकाले यो सम्भवत नौलो अभ्यास गरे हो।’ गाउँपालिकाले सुस्मितालाई प्रमाणपत्र दिएर नै गाउपालिका अध्यक्षको पदभार ग्रहण गराएको थियो।

भने सुस्मिताको अध्यक्षतामा गाउँपालिकाले निम्नलिखित महत्वपूर्ण ३ वटा निर्णयसमेत गरेको छ ।

१) बालबालिकाको नेतृत्व विकासका लागि ५० हजार रूपैयाँ बजेट थप गर्ने,
२) नयाँ भौतिक संरचना बालमैत्री बनाउने
३) बालविवाह नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने ।

“सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार”

अध्यक्ष सुस्मिताले स्थानिय विद्यालय र स्वास्थ्यचौकीको समेत निरीक्षण गरेकी थिइन्। जनताको सबैभन्दा नजिकको सरकारको अध्यक्ष बन्न पाउँदा खुसी लागेको सुस्मिताले बताइन्। ‘एक दिनका लागि भए पनि यति ठूलो जिम्मेवारी दिनुभएकोमा पालिकालाई धन्यवाद दिन चाहन्छु ,’ उनले भनिन्, ‘स्थानीय निकाय अर्थात सरकार के हो र यसले कसरी काम गर्छ भन्ने धेरै जानकारी पाएँ।’ अरू स्थानीय तहलाई पनि बालमैत्री बन्न अभियान थाल्ने उनले बताइन्।

गाउँ कार्यपालिकाको सोमबारको बैठकले बाल दिवसका दिन एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। बालबालिकाको क्षमता एवं नेतृत्व विकासमा यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताए। यस्ता कार्यक्रमलाई देशव्यापी बनाउन आवश्यक समेत रहेको कुरा माझीले बताए ।

Write your Comment