आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुटवल-नारायणगढ खण्डमा ३ वर्षमा ८ प्रतिशतमात्रै काम

    प्रकाशित २०७८ भाद्र २५, शुक्रबार (२ साल अघि)


नारायण शर्मा, पूर्वी नवलपरासी । बुटबल-नारायणगढ खण्ड फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ सरकारी स्वामित्वको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का अवधिमा काम नसक्ने पक्का जस्तै छ । एसियाली विकास बैंकको १७ अर्ब ऋण सहयोगमा ४ वर्षभित्र सक्ने गरी ठेक्का लिएर काम थालेको कम्पनीले २०७९ असोज मसान्तसम्म सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।
कम्पनीले काम थालेको करिब तीन वर्ष अवधिमा सडक फराकिलो पार्ने काम आठ प्रतिशतमात्रै भएको छ । यसबारे बुझ्न खोज्दा चिनियाँ ठेकेदार कम्पनीका कन्ट्र्याक्ट मेनेजर युआन हेनकुन सम्पर्कमा आउन चाहेनन् ।
बुटवल–नारायणगढ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले चिनियाँ कम्पनीले ठेक्काको अवधि बढाउन प्रस्ताव गरेको र नेपाली पक्षले सम्झौताअनुसार नै काम सम्पन्न गराउनुपर्ने अडान राखेको बताए । महेन्द्र राजमार्गको बुटवल–नारायणगढ खण्डमा पर्ने १ सय १४ किलोमिटर सडक फराकिलो पार्ने ठेक्का पाएको कम्पनीले ३ वर्षको अवधिमा ८ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । राजमार्गमा पर्ने ४६ सय बिजुलीका पोल नसारेका कारण सडक पुर्ने काम हुन सकेको छैन । पूर्वी खण्डमा २४ सयवटा बिजुलीको पोल सार्नुपर्छ । साइड क्लिएर नभएसम्म पोल गाड्ने काम अघि बढाउन नमिल्ने विद्युत् प्राधिकरण कावासोती कार्यालयले जनायो ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बजारका खाल्टा पुर्न लगाउन जिल्ला प्रशासनमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई समेत राखेर धेरैपल्ट बैठक गरे पनि फिल्डमा कामै नहुने गरेको बताए । चाडबाड नजिकिइरहेका बेला खाल्टाखुल्टीले मुख्य राजमार्गको बिजोग छ । कावासोती–नारायणगढ खण्डको ३२ किलोमिटर सडक पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । ( साभार : कान्तिपुर )

Write your Comment