आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

रुद्रपुर गढीको विकासका लागि चार करोड बढि रकम

    प्रकाशित २०७८ भाद्र १०, बिहिबार (२ साल अघि)

ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौवादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाईएको छ ।
संघीय सरकारको दुई करोड ८ लाख र गाउँपालिकाको दुई करोड ८ लाख रुपिँया गरि रुद्रपुर गढी पर्यटकीय विकास कार्यक्रमका लागि चार करोड १६ लाख रुपिँया छुट्टाईएको हो । गाउँपालिकाले सेनकालिन इतिहाससंग जोडिएको रुद्रपुर गढी सहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यस अघि नै योजना अगाडी बढाएको थियो । तर , सानो रकमले योजना पुरा गर्न सक्ने अवस्था नरहेकाले गाउँपालिकाले संघीय सरकारसंग रकम माग गरेर यस वर्षबाट कार्यक्रम सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
रुद्रपुर गढीमा सेनकालीन राजाको दरबारको भग्नावशेष,दरबारको सुरक्षाका लागि वरिपरीबाट खनिएको खाल्डो , सेनाहरुले परेड खेल्ने टुडीखेल ,सुरुङ्गहरु रहेका छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकास संगै प्रर्वद्धन गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सकिने , जसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो । छिट्टै विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार गरेर कार्य अगि बढाईने उहाँको भनाई छ ।
यस्तै रुद्रपुर गढीमै प्रदेश स्तरीय हिल स्टेशन समेत निर्माण गर्न प्रकृया अगि बढाईएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न र सबैखाले पर्यटकलाई आकर्षित गर्न हिल स्टेशन निर्माणको योजना अगि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट , खेलका पूर्वाधार लगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले ४७ करोड रुपिँयाको बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
रुद्रपुर गढीलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पवन अर्यालले बताउनुभयो । गाउँपालिकाले प्रतेक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आईरहेको छ । रुद्रपुर गढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचनाहरु निर्माण , लाली गुँरास संरक्षित क्षेत्र लगायतका काम भईरहेको उहाँले बताउनुभयो । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास र पर्वद्धन गर्न सके यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

Write your Comment