आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

महिलाले हकअधिकारबाट बञ्चित नहुन सोह्र वर्ष पुगेपछि नागरिकता बनाईहालौँ – प्रजिअ पंगेनी

    प्रकाशित २०७८ भाद्र ८, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताउनुभएको छ ।
महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार जिल्ला प्रशाशन कार्यालयमा आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाहरुले यस कुरामा अझै बढी चासो दिनुपर्ने बताउनुभयो । नागरिकता पाउने अधिकारबाट विविध कारणले धेरैजसो महिलाहरु नै बञ्चित हुनुपरेकाले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नपर्नेमा उहाँले जोड दिनुभयो । महिला हिंसादेखि महिलाले पाउनुपर्ने हरेक हक अधिकारबाट नागरिकता नभएकै कारण बञ्चित हुनुपरेका धेरै केशहरु प्रशासनमा आउने गरेको बताउँदै उहाँले नागरिकता पछि बनाउँला भनेर साँचेर राख्न नहुने बताउनुभयो । समयमै नागरिकता बनाउने कुरामा संचार माध्यम र सम्बन्धीत निकायले सचेतना जगाउने काम गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै उहाँले यदि बाबुआमाको झैझगडा हुने , मनमुटाव भईरहने भएमा तुरुन्तै नाबालक परिचयपत्र बनाएर राख्नुपर्ने बताउनुभयो । पछि यदि आमालाई हिंसा गरेर जन्मदर्ता , नागरिकता बनाईदिन्न भनेर बाबुले भनेमा नाबालक परिचयपत्र आधार बन्ने उहाँले जानकारी दिनुभयो । ‘झैझगडा भएर आमालाई हिंसा भयो , बालबच्चाको जन्मदर्ता वा नागरिकता बनाईदिन्न भनेर बुवाले भन्न पाउँदैन् । नाबालक परिचयपत्र नागरिकता जस्तै साक्षी भएर रहिरहन्छ । त्यसैले नाबालक परिचयपत्र बनाएर राख्न आवश्यक छ । ’ पंगेनीले भन्नुभयो ।
उहाँले बच्चा जन्मिसकेपछि जन्मदर्ता समयमै बनाउन समेत आग्रह गर्नुभयो । वडावडामा कतिजना बच्चा जन्मिए भन्ने कुराको तथ्याङ्क स्थानीय तहले राख्ने र अनिवार्य रुपमा जन्मदर्ता गर्न पहल गर्ने , जन्मदर्ता नगर्नेलाई ताकेता गर्ने जस्ता कार्य गर्न सकेमा पनि जन्मदर्ता र नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नपर्ने उहाँले बताउनुभयो ।
यस्तै उहाँले विद्यालयले दिने सर्टिफिकेटमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । जन्मदर्ता र सर्टिफिकेटमा नामथर जन्ममिति जस्ता कुरा फरक पर्दा जन्मदर्ता वा सर्टिफिकेट कुनको आधारमा नागरिकता दिने भन्ने कुराले पनि गाह्रो पार्ने भएकाले विद्यालयले सर्टिफिकेट बनाउँदा गल्ती नहुनेगरि ध्यान दिएर बनाईदिनुपर्ने उहाँले बताउनुभयो ।
यसैगरि प्रतिलिपि लिन आउँदा दैनिक रुपमा न्युनतम ३ वटा नामथर सच्याउन भन्दै हिंसामा परेका महिलाहरु आउने गरेको पंगेनीले बताउनुभयो । विभिन्न किसिमका हिंसामा परेर डिभोर्स भएपछि प्रतिलिपि सच्चउन आउने गरेको उहाँले जानकारी दिनुभयो । कतिपय बालबिवाह भएका र धेरैजसो २५ देखि २७ वर्षभित्रका महिलाहरु बढि आउने गरेको उहाँले बताउनुभयो ।
एक वर्षमा ९ हजार १४८ वटा नागरिकताको प्रतिलिपी बिग्रेको पाईएकोले ती सबै नागरिकतालाई सच्चाउने काम भएको उहाँले बताउनुभयो । । करीब ९५ प्रतिशत प्रतिलिपी बिग्रेको पाईएको उहाँले बताउनुभयो । नागरिकता बनाउँदा कतिपय कर्मचारीहरुले नियतबश नै दुःख दिने प्रवृती समेत रहेकोले आफु आएपछि यस्ता कुरालाई निरुत्साहित गरेको बताउनुभयो । नितीनियमभित्र रहेर दिन मिल्ने सबै नागरिकलाई सहज रुपमा नागरिकता दिने र गल्ती भएका, बिग्रेका नागरिकतालाई सच्चाउने काममा सहज वातावरण बनाएको उहाँको भनाई छ ।
नागरिकताको अधिकार पाउने कुरामा विभिन्न कारणले महिलाहरुले समस्या झेल्नुपर्ने , आमाको नामबाट नागरिकता पाउने कुरा कार्यान्वयन हुन नसक्दा छोराछोरी समेत नागरिकता बिहीन बन्नुपर्दा उनीहरुले नेपाली नागरिक हुने अधिकार र अन्य सेवा सुविधाबाट समेत बञ्चित बन्नुपरेको छ । महिलाले नागरिकता पाउने र आमाको नामबाट नागरिकता पाउने कुरालाई माथील्लो निकायबाट नै सहज बनाईनुपर्ने प्रजिअ पंगेनीले बताउनुभयो । ‘नागरिकता दिने त प्रशासन हो , विदेशी नागरिकलाई नागरिकता दिन नहुने कुरामा प्रशासनले कडा गर्ने हो । तर , विदेशीले पनि नागरिकता पाउँछन् की भन्ने कुराले महिलाहरुलाई नागरिकता दिने र आमाको नामबाट नागरिकता पाउने कुरालाई रोक्नु हुँदैन् । नागरिकताको अप्ठेरो गाँठोलाई माथीबाटै राजनैतिक रुपमा फुकाउनुपर्छ । नभए धेरै महिलाहरु अधिकारबाट बञ्चित हुनुपुग्छन् । ’ पंगेनीले भन्नुभयो ।
प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष चार हजार ४९५ जना महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । भने , चार हजार ३ सय ४६९ जना महिलाको नागरिकताको प्रतिलिपि बनाईएको छ ।
क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष पंगेनीले महिलाको हक अधिकारका लागि महिला पत्रकारहरुले सदैव कलम चलाईराख्ने बताउँदै कार्यालयका कामकारवाहीमा गल्ती कमजोरी भए खबरदारी समेत गर्ने बताउनुभयो । महिलाका विषयमा निरन्तर सहकार्य गरेर अघि बढ्न उहाँले प्रजिअसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा त्रियाशील पत्रकार महिला नवलपुरकी उपाध्यक्ष शारदा झेंडीले स्वागत मन्तव्य राख्नुभएको थियो भने , सचिव राधिका भुषालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरकी उपाध्यक्ष मुना दाहाल , सहसचिव धनु भुषाल , फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला राना लगायत जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

Write your Comment