आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

पुल मर्मत नहुदा त्रासमा यात्रा गर्नुपर्ने बाध्यता

    प्रकाशित २०७८ श्रावण २६, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी ,कावासोती। एक महिना अगि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको कावासोती स्थित केरुङ्गे खोलामा आएको बाढीले पुलमा क्षती पुर्‍यायो । तर, अझैसम्म पनि मर्मत् हुन नसक्दा जोखिम र त्रासैत्रासमा यात्रा गर्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।
केरुङ्गे खोलाको तिन वटा पुलमा क्षती पुगेको थियो । जसमध्ये दुई वटा भर्खर सम्पन्न भएर आवतजावत सुरु गरिएको थियो । भने , एउटा निर्माधाधीन पुल हो । कावासोती पाँच र चार नं. वडाको हसौरा जोड्ने पुलको छेउमा राखिएको ग्राभेल भासिएर धराप बनेको छ । दैनिक सयौँ सवारी यसै पुलबाट वारपार गर्ने गर्दछन् । तर , महिना दिन बित्दा समेत मर्मतमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । स्थानीय गोविन्द पाण्डेले दिनरात कामले यसै पुलबाट हिड्नुपर्ने अवस्थामा कुन दिन ग्राभेल सबै भासिएर जनधनको क्षती पुर्‍याउने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुभयो । दुईतर्फी आवतजावत गर्न पनि समस्या भएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीसंग कुरा राखेपनि मर्मतमा चासो नदिएको उहाँको गुनासो छ ।
पुल निर्माणको काम हेर्दै आउनुभएका ईन्जीनियर विष्णु खनालले भने अब छिट्टै मर्मत गर्ने बताउनुभएको छ । निर्माण व्यवसायीसंग कुरा गर्दा इन्सुरेन्सको विषयले केही ढिलाई हुन पुगेको बताएको उहाँले जानकारी दिनुभयो । स्थानीयबाट पनि मर्मतका लागि कुरा आईरहेकोले अबको केही दिनमा नै कामदार बोलाएर मर्मत गर्ने उहाँले बताउनभएको छ ।
यस्तै कावासोती ३ अठ्ठाईस बीघा र चार हसौरा जोड्ने अर्को निर्माणधीन पक्की पुलको काम भने तत्काल नहुने उहाँले जानकारी दिनुभयो । निर्माणाधीन रहेको उक्त पुलको बीच भागको सेटिङ्ग पुरै भत्कीएको थियो । वर्षा रोकिएपछि मात्रै ढलानको काम हुने उहाँले बताउनुभयो ।
यस्तै कावासोती १ र हुप्सेकोट ४ शंखदेव जोड्ने पुलको बाँधमा क्षती पुगेको थियो । उक्त पुलको पनि छिट्टै मर्मत् गरिने उहाँले जानकारी दिनुभयो ।
एक महिना अघि परेको अविरल वर्षाले पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुलमा पनि क्षती पुगेको थियो । केहि समय अगि मात्रै मर्मत गरेर यहाँ आवतजावत गर्न मिल्ने बनाईएको छ ।
बौदीकाली दुई र पाँच जोड्ने निरन्दी खोलामा बन्दै गरेको पुलमा समेत बाढीले क्षती पुगेको थियो । भने , बौदीकाली एक र दुई जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बगाएको थियो ।
यी दुई पुल पूर्वाधार कार्यालय पूर्वी नवलपरासी मार्फत् निर्माण गरिएका पुल हुन् । पूर्वाधार कार्यालय प्रमुख रविन्द्र तिवारीका अनुसार बौदीखोलाको पुलमा करीब २० लाख र निरन्दी खोलाको पुलमा करीब १० लाख रुपिँया बराबरको क्षती पुगेको छ । यी पुल निर्माण गर्ने काम अब वर्षा रोकिएपछि मात्रै हुने उहाँको भनाई छ ।

Write your Comment