आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्मान र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


कावासोती।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार नवलपुरका युवा खेलाडी र युवा उद्यमीहरुलाई सम्मान गरिएको छ ।युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद र रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समितिको समन्वय तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय तिलक महतले सम्मानपत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
जिल्लाको विकास , कृषि क्षेत्रको विकास र युवाको क्षेत्रमा सक्रिय रुपमा कलमको माध्यमबाट योगदान पुर्‍याएकोमा पत्रकार ज्ञानु पंगेनीलाई सम्मान समेत गरिएको हो । यसै गरी जिल्लाका पाँच जना राष्ट्रिय खेलाडीहरु घनश्याम महतो , सञ्जय महतो , दोलमाया महतो , शंकर रिजाल र उदय थापा सम्मानीत हुनुभएको छ ।त्यस्तै देश विदेशका विभिन्न ठाउँमा पुगेर पनि नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेका पाँच जना युवा उद्यमीहरु जनक बहादुर माकिम मगर , विनोदराज सिग्देल , हरिनारायण महतो , चुडामणी शर्मा र याम प्रसाद बिकलाई सम्मान गरिएको छ ।
विदेशबाट सीप र अन्य ज्ञान हासिल गरी हाल जिल्ला भित्रनै स्वदेशमै विभिन्न उद्यम गरेर सफल भएको उद्यमीहरुलाई हौसला प्रदान गर्नको लागि सम्मान गरिएको हो ।
कावासोती १४ स्थित नवलपुर कोल्ड स्टोर निर्माण स्थलमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै सासंद महतले देशको परिवर्तन गर्ने जिम्मा युवाकै काँधमा रहेको बताउनुभयो । युवाहरु कुनै न कुनै उद्यम व्यवसायमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उद्यम व्यवसायबाट नै देशको आर्थिक् स्तर माथी उठ्ने जसले देशको समग्र विकासमा टेवा पुर्‍याउने बताउनुभयो । उहाँले आफ्नै देशमा सानोठूलो नभनी जुनसुकै उद्यम व्यवसाय गर्ने आँट गर्न युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ यस वर्ष सप्ताहब्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस २०७८ मनाईंदै छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद नवलपुरका अध्यक्ष हिमालसिंह ठकुरी , जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतमान पुन , कावासोती १४ का वडा सदस्य दान बहादुर महतो लगायतले बोल्नुभएको थियो । कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भिम बहादुर महतोले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम नेत्र थनेतको अध्यक्षतामा भएको थियो ।

Write your Comment