आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

त्रिवेणीको होटलमा एक किशोरीको शंकास्पद मृत्यु

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


नवलपुर । केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ की १७ बर्षीया बालिकाको शुक्रवार साँझ मृत्यु भएको हो ।

त्रिवेणीका होटल शाही प्यालेसको छुट्टै कोठामा किशोर–किशोरी केहीवरे बसेपछि किशोरी अचानक बिरामी परी चौपत्ताको शहिद स्मृती सामुदायिक अस्पताल पुर्याईएकोमा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेपछि घटना शंकास्पद भएको भन्दै नवलपुर प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार होटल रहेको क्षेत्र नवलपुरतर्फ परेकाले ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट इन्स्पेक्टर हिक्मत थापा नेतृत्वको प्रहरीको टोली घटना स्थलमा गई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ भने अस्पताल पश्चिम नवलपरासीमा भएकाले मृतकको शव परिक्षणका लागि परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल पठाएपछि थप अनुसन्धान पश्चिम नवलपरासीले समेत गरिरहेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा होटल सञ्चालक भोज बहादुर थापालाई र किशोरीसँगै होटल गएका किशोरले प्रयोग गरेको मोटरसाईकल प्रहरीले गएराती नै नियन्त्रणमा लिएको छ । किशोर भने फरार छन् । फरार रहेका १७ बर्षकै किशोरले घटनापछि फोन गरेका उनका साथी र मोटर साईकल धनी पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ शान्तिटोलका २८ बर्षीय ब्यासप्रसाद भरलाई आज शनिवार बिहान नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा ति किशोरीको शरीरमा कुटपिटजन्य कुनै घाउ वा चोटपटक निलडाम नदेखिएको प्रहरीले जनाएको छ । किशोरीको अत्याधिक रक्तश्राव भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, पोष्टमार्टमको रिपोर्ट नआएसम्म पुष्टि गर्ने आधार नभएको प्रहरीको भनाई छ । होटलमा आएर बसेको केहीबेरमै ति किशोरीले पेट दुख्यो भनेर छटपटाएपछि अस्पताल पुर्‍याएको तथ्य खुल्न आएको छ ।

फरार रहेका किशोर र मृतक किशोरी दुवै पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ का हुन् ।
फरार बालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतक बालिका र फरार बालकको परिचय खुलेको भएपनि घटनाको प्रकृति र प्रहरी अनुसन्धान जारी रहेको कारण नाम सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ ।

Write your Comment