आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड दुरावस्थामा

    प्रकाशित २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)

खगेन्द्र पराजुली, नवलपुर । पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्डको हालत अहिले दुरावस्था छ । कोभिड १९ संक्रमणका कारण लामो समय निषेधाज्ञा भए पनि यहाँको मुख्य सडकले कहिल्यै विश्राम पाएन । सवारी ओसार्ने यात्रु बसहरुको चाप घटेपनि सडकमा भारवाहक र मालवाहक साधनहरु चलिरहे ।
सडक विस्तारको जिम्मा पाएको चाइनिज कम्पनीले अघिल्लो वर्ष कोभिडका कारण सडकको काम गर्न पाएको थिएन । तर, यसवर्ष ठूला तथा गौरवका आयोजनाका काम गर्न पाउने भनेपछि जिल्ला प्रशासन कार्यालयले समेत त्यसका लागि सहजीकरण गर्दै निर्वाध काम गर्न वातावरण खुल्ला ग¥यो । तर, दोस्रो लहरको कोरोनाकालमा आयोजनाका मजदुर समेतमा कोभिड लाग्नु, तिनका परिवारका सदस्य समेत संक्रमित भएकाले स्याहार–सुसारका लागि घर फर्कनु, चाँडै मनसुन सक्रिय हुँदा काम प्रभावित हुनु जस्ता कारणले यसवर्ष पनि निर्माण–मर्मत कार्य प्रभावित भएको आयोजनाको भनाइ रहेको छ ।
यता, स्तरोन्नतिको प्रक्रियामा रहेको सडकले मर्मतको अवसर नपाउँदा यो बाटो हुदै यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नुपरेको नागरिकहरुको गुनासो छ । यस वर्ष मात्रै हैन विगत ३÷४ वर्षदेखि यो बाटोको हालत यस्तै छ । हिउँदमा सामान्य रुपमा भएको कामचलाउ मर्मतले जेनतेन यात्रा सहज भएपनि बर्खामा ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्छ । दैनिक देवचुलीबाट कावासोतीका लागि काममा आउ–जाउ गर्ने देवचुलीका जगदिश तिवारीले सुनाए ।
ब्यस्त हाइवेमा यातायातका साधनहरुको चाप अत्यन्तै धेरै हुने र विछिप्त अवस्थामा सडक हुँदा मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरु सडकका खाडलमा परी उछिट्टिएका प्रसस्त उदाहरण छन् । ठूलै दुर्घटनामा नपरे पनि सडकको जीर्ण अवस्थाका कारण कैयौं मोटरसाइकल पल्टने मोटरसाइकल टुठफुटसहित क्षति पुग्ने, चोटपटक लाग्ने गरेको छ । खाल्डाखुल्डी छल्न खोज्दा ठूला साधनसमेत दुर्घटनामा पर्ने गरेका छन् ।
यता, बाटो विस्तार निर्माणको जिम्मा पाएको कम्पनीले खाल्डा–खुल्डी परेको बाटोमा सुख्खा ग्राभेल मात्र हालेको छ । ठूला–साना खाडलमा ठूल्ठूला ढुंगा सहितको ग्रावेल मिस्कट हालेर पुर्दा पानी आउने बित्तिकै खाल्डा–खुल्डी फेरी उस्तै हुने गरेको छ । दलदलेदेखि कावासोती खण्डको क्षेत्रमा दिनहुँ यो समस्या रहेको छ । बजार क्षेत्रको गैंडाकोट, चोरमारा, अरुणखोला, दुम्किबासमा सडक नै खोलाको बगर जस्तो देखिन्छ ।
दिनहुँको बर्षाका कारण बगाएर सडकमा फिजिएका ढुंगा उछिट्टिएर कतिखेर कसलाई लाग्ने हो भन्ने जोखिम बढेको भन्दै प्रगतिनगरका सन्देश अधिकारीले आक्रोश पोखे । जिल्ला प्रशासन कार्यालय नवलपुरकी प्रमुख मनमाया पंगेनीका अनुसार निर्माण अवधिभर सडकको गर्नुपर्ने मर्मत सम्भारदेखिको काम निर्माण कम्पनीको हुने हुँदा सोही अनुसार काम गर्न भनिएको छ । बर्षातका कारण अकस्मात अवरुद्ध हुने सडक खुलाउने समेत कार्यमा कम्पनीको सहयोग रहेको बताइन् ।
खाल्डाखुल्डीका विषयमा पनि कुरा भएको र बर्खामा कालोपत्रे गर्न सम्भव नभएकाले दैनिक ढुंगा, माटो, गिटी, बालुवा सहितको मिस्कट ग्रावेलले पुर्ने गरेको रिपोर्टिङ पाएको बताइन् । उनले यो सडक म्याद गुज्रिसकेको र स्तरोन्नतिको काम पनि चलिरहेकाले अस्थायी मर्मत नै हुने बताइन् । मुख्यमार्ग भएकाले बाटो अवरुद्ध नगरी निर्माण कार्य पनि जारी रहने गरि व्यवस्थापन गर्नुपर्ने भएकाले कम्पनीलाई सोही अनुसार गर्न बेलाबेलामा सुझाव दिईरहेको सिडीओ पंगेनीको भनाइ छ ।
यता यात्रु–नागरिकहरुले भने कम्पनीले खर्च बचाउने नाममा मर्मतमा कम चासो दिएको आरोप लगाउने गरेका छन् । यसै पनि बनाउनुपर्ने बाटो हो फाईनल चरणमा भत्काएरै बनाउनुपर्ने भएकाले पनि भत्किए भत्कियोस् भन्ने मनसायले कम्पनीले मर्मतमा त्यति चासो नराखेकाले भरपर्दो मर्मत नभएको हुनसक्ने कावासोतीमा व्यवसाय गर्दै आएका व्यवसायी विष्णु पाण्डे बताउँछन् ।

Write your Comment