आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

स्वास्थ्य बीमा दर्ता सहयोगीले दुम्कौली अस्पताललाई बुझाए ध्यानाकर्षण पत्र

    प्रकाशित २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली । नवलपरासी ( वर्दघाट सुस्ता पुर्व) नवलपुरका स्वास्थ्य बीमामा आबद्ध आम बीमितले सेवा प्रदायक अस्पतालमा औषधी लगायत अन्य सेवा सुविधा नपाएपछि जिल्लामा रहेका स्वास्थ्य बीमामा दर्ता सहयोगीहरुले अस्पतालहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईलाई बीमितले पाउनुपर्ने औषधी लगायत सेवा सुविधा उपलब्ध गराउन सेवा प्रदायक अस्पताललाई तत्काल निर्देशन दिन अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
बीमामा आबद्ध आम बीमितले गत जेष्ठ १ गतेदेखि सेवा सुविधा पाउनुपर्ने प्रावधान रहेता पनि श्रावणसम्म पनि सेवा प्रदायक अस्पतालबाट आवश्यक सेवा सुविधा नपाएपछि मंगलबार जिल्लामा रहेका दर्ता सहयोगी प्रतिनिधिहरुले दुम्कौली अस्पतालले तत्कालै सेवा सुविधा प्रदान गर्न आग्रह गर्दै अस्पतालका प्रमुख चित्रबहादुर सुनारलाई ध्यानार्कषण पत्र बुझाएका छन् । जेष्ठ महिनादेखि सेवा प्रदायक अस्पतालबाट बीमीतले पाउनुपर्ने सुविधा नपाएपछि बीमितहरु गुनासो लिएर दर्ता सहयोगी समक्ष आउने गरेकाले दर्ता सहयोगी समेत समस्यामा परेको स्वास्थ्य बीमा दर्ता सहयोगी होमनाथ पौडेलले बताए । अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा बीमितले नपाएपछि दर्ता सहयोगीहरु बीमाको निम्ति घरदैलो कार्यक्रमलाई निरन्तरता दिन समेत असमर्थ रहेको उनले बताए ।

जिल्लामा रहेका दर्ता सहयोगी प्रतिनिधिहरुले मंगलबार दुम्कौली अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिहरु र अस्पताल प्रशासनबिच अन्तरक्रिया समेत गरेका छन्। बीमामा आबद्ध बीमतिहरुको औषधि लगायतका सेवा सुविधाप्रतिको गुनासोहरुलाई अस्पतालले सुधार गर्नुपर्ने देवचुली नगरपालिका वडा नं. ४ का अध्यक्ष गिरबहादुर थापाले बताए ।
अस्पतालले बीमामा आबद्ध बीमतिहरुको सेवालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने र चाँडै नै औषधि उपलब्ध गराउने तयारी गरिरहेको दुम्कौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल शर्मा लम्सालले बताए ।
साउनदेखि औषधी उपलब्ध गराउने लक्ष्य लिएता पनि अस्पतालमा कोभिडका बिमारीको व्यवस्थापन ,औषधी खरिदका निम्ति टेण्डर प्रकृयामा जानुपर्ने लगायतका समस्याले गर्दा बीमितले पाउनुपर्ने सेवा सुविधा केही समय ढिलो भएको दुम्कौली अस्पतालका प्रमुख चित्रबहादुर सुनारले बताए । बीमाबारे अस्पतालका कर्मचारीलाई भर्चुअल माध्यमबाट तालिम प्रदान गरिएता पनि प्रभावकारी नभएकोले राष्ट्रिय बीमा बोर्डसँग तालिमको लागि अनुरोध गरेको सुनारले बताए।
दुम्कौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल शर्मा लम्सालको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा देवचुली वडा न १ का अध्यक्ष लक्ष्मण भण्डारी , देवचुली वडा न २ का अध्यक्ष माधव के सी, देवचुली वडा न ४ का अध्यक्ष गिरबहादुर थापा,कार्यपालिका सदस्य टीका सिंजाली, देवचुली-९ का जनप्रतिनिधिद्वय टेकबहादुर गाहा र रिलकुमारी तामाङ, अस्पतालका प्रमुख चित्रबहादुर सुनार , सि अहेव राज रानाभाट , गणेश न्यौपाने र दर्ता सहयोगी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Write your Comment