आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा स्वास्थ्य बीमा गर्नेले अझै पाएनन् औषधि

    प्रकाशित २०७८ श्रावण २, शनिबार (२ साल अघि)


राजु चापागाई
श्रावण २, नवलपुर ।
नवलपरासी (वर्दघाट सुस्ता पुर्व) नवलपुरमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरुले अझैसम्म बीमाबाट औषधि नपाएको गुनासो बढ्दै गएको छ ।
गत जेठ १ गतेबाट बीमाले समेटेका सबै औषधि उपचार पाउनुपर्ने भएता पनि २ महिना भईसक्दा समेत सामान्य औषधी पनि नपाएको बिरामीहरुले बताएका छन्। स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश साथै प्रथम सेवाबिन्दु मध्यविन्दु जिल्ला अस्पताल , दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्थाको ढिलासुस्तीका कारण नागरिकले गुणस्तरीय सेवा पाउन नसकेका हुन्। सेवा बिन्दुहरुमा ढिलो गरि चेकजाँच गर्न सुरु भएतापनि औषधी फार्मेसीमा गई किन्न परेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

जेठबाट सेवा सुरु हुने भन्दै गत फागुन र चैतमा बीमा गरेका सेवाग्राहीहरुले बीमामा भने बमोजिम सेवा नपाउँदा आफूहरु माझ दिनहुुँ गुनासो आउने गरेको र गुनासो आउने दर व्यापक भएको स्वास्थ्य बीमा दर्ता सहयोगी होमनाथ पौडले बताए।

स्वास्थ्य बीमा गरेका बिमितहरुका लागि सम्पुर्ण सेवा उपलब्ध भैरहेको साथै औषधि खरिदको प्रक्रियामा रहेकोले केही समस्या भएको प्रथम सेवा बिन्दु दुम्कौली अस्पतालका फोकल पर्सन गणेश न्यौपानेले बताए । उनले भने -‘साउन महिना भित्रमा धेरैजसो औषधि उपलब्ध गराउने गरि काम भैरहेको छ । बिमा कार्यक्रम जेठ महिनामा मात्रै प्रदेश तथा संघमा भर्चुअल रुपमा सम्झौता गरि काम गर्दा केही प्राविधिक समस्याले ढिलो भएको हो ।’

स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जिवलाल खरेललाई पटकपटक सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ रहेको छ ।

स्वास्थ्य बीमा गरेका बिमितहरुलाई बिमा लागु भएका स्वास्थ्य संस्थाले बिमा प्याकेजमा भएका औषधिहरु तत्काल उपलब्ध गराउनुपर्ने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए । ‘नवलपुर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम नयाँ भएको साथै प्रथम सेवा बिन्दु ( स्वास्थ्य संस्था) सँग कोभिडका कारण भर्चुअल सम्झौता गरि अनलाईन तालिम प्रदान गरि काम अघि बढाएको हो ।स्वास्थ्य बिमा कार्यक्रम नेपाल सरकारको साझेदारी कार्यक्रम भएकाले सबैको चासो हुनुपर्छ । सबैजसो स्वास्थ्य संस्थाहरुले औषधिलगायत सेवा उपलब्ध भईरहेको छ तर केही अस्पतालमा औषधी नपाएको गुनासो आएको छ । केन्द्रबाट आन्तरिक रुपमा काम गरिरहेको र अब स्वास्थ्य संस्था अनुगमन गर्ने प्रक्रिया सुरु गरिने छ ‘ उनले बताए।

नवलपुर जिल्लामा गत फागुन ९ गतेबाट सुरु भएको स्वास्थ्य बीमामा हालसम्म करीब २५ हजार जिल्लावासी आबद्ध भैसकेका छन् ।

Write your Comment