आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

अलबिदा उज्ज्वल थापा

    प्रकाशित २०७८ जेष्ठ १८, मंगलबार (२ साल अघि)


काठमाडौं । कोरोना भाईरस संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक संयोजक उज्ज्वल थापाको ४४ वर्षको उमेरमा आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिरहेको थियो ।

‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’

आईटी उद्यमी, सामाजिक अभियान्ता हुँदै विवेशकील नेपाली दलको नामबाट उनले राजनीति थालेका थिए । सूचना प्रविधि क्षेत्रमा उनलाई धेरै युवाले पथप्रदर्शकका रुपमा उनलाई सम्मान गर्छन् । उनी आन्ट्रप्रेनर्स फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापक समेत हुन् ।

उनले स्थापना गरेको डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनीले वृद्धि गर्न नसकेपछि त्यसबाट हात झिकेका थिए । उक्त कम्पनी उनले त्यहाँ काम गर्ने कर्मचारीहरुलाई नै जिम्मा लगाएका थिए । स्याङ्जा घर भएका उनले सन् २००८ तिर एक्सोटिक बुद्ध नामक ट्राभल पोर्टल समेत बजारमा ल्याए ।

तर त्यसले पनि अपेक्षित सफलता हासिल गर्न नसकेपछि सन् २०१४ मा आएर बन्द भयो । आफ्नो बचत र समय नेपाली ट्राभल पोर्टलमा लगाएका उनले त्यसबाट आम्दानी गर्न नसकेपछि बन्द गरेका थिए ।

यति मात्र होइन, सन् २००६ सालमै उनले रोजगारी खोज्न सकिने साइट डीएमएस लिस्ट सञ्चालनमा ल्याए । तर त्यो पनि सन् २०१२ सम्म आइपुग्दा बन्द गर्नुपर्‍यो । उनी त्यसलाई विश्वभर नेपालीहरुले बनाएका रोजगार सूचीकरण साइटको छाता बनाउन चाहन्थे । त्यसले आम्दानी गर्न नसकेपनि त्यस्तै अन्य साइटहरु बन्न उत्प्रेरित गर्न सकेकोमा उनी सन्तुष्टी महसुस गर्थे ।

उनले अनलाइन न्युजो पोर्टल समेत ल्याए । न्युजफिड डटकम डट एनपी नामक उक्त साइटको आयू पनि सन् २०१० देखि २०१२ को मात्रै रह्यो । उनी त्यसलाई नेपालसम्बन्धी सबै समाचार एकै स्थानमा पढ्न सकिने साइटको रुपमा विकास गर्न थाहन्थे । त्यसप्रतिको रुचि पैदा गर्न नसकेपछि बन्द गरेर अगाडि बढ्नुपरेको उनी बताउने गर्थे ।

त्यसो त उनी अमेरिकामा छँदा सन् २००० तिर डेढ वर्षजति बेरोजगार बसेका थिए । उनले अमेरिकामा छँदा विश्वकै ठूलो मध्येको सर्च इन्जिन ट्राइपोड/लिकसमा इन्टर्नशिप समेत गरेका थिए । आईटी उद्यमशिलता समेत सुरु गरेका उनले विवेकशिल नेपालीको राजनीति सुरु गरेपछि त्यसबाट विदा लिएका थिए । यद्यपि त्यस पछिका दिनमा समेत पूर्णकालिन रुपमा रोजगारीमा नलागेका उनी फ्रिल्यान्सिङको काम गर्दै आएका थिए ।
परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

नेपालमा वैकल्पिक राजनीतिको वकाल गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

कोरोना संक्रमणका कारण उनी बिरामी परेपछि उनको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उनको उपचारका लागि सहयोग गरेका थिए ।

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।

हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १८ गते

Write your Comment