आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा स्वास्थ्य बीमा गरेकाले पाएनन् निःशुल्क उपचार

    प्रकाशित २०७८ जेष्ठ १२, बुधबार (३ साल अघि)


तिर्थराज डुम्रे,नवलपुर । नवलपरासी पूर्व नवलपुरमा स्वास्थ्य बीमा गरेका करिव ३० हजार जना स्थानीय सेवाबाट बञ्चित भएका छन् । बीमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयरी पुरा नहुँदा २०७७ चैत मसान्त सम्ममा बीमा गरेका करिव ३० हजार जना सेवाबाट बञ्चित भएका हुन् ।
चैत मसान्त सम्ममा स्वास्थ्य बीमा गरेकाहरुको सेवा अवधि जेठ १ गते देखि शुरु भएको छ । तर, स्वास्थ्य बीमा वोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनको लागि छनोट भएका स्वास्थ्य संस्थासंग बीमा कार्यान्वयन सम्र्झाैता गर्न ढिलाई गरेको कारण कार्यान्वयन हुन सकेको छैन । कार्यक्रम कार्यान्वयनको लागि छनोट भएका मध्ये मध्यविन्दु जिल्ला अस्पताल नवलपुर बाहेकका स्वास्थ्य संस्थासंग केही दिन अगाडी मात्रै सम्झौता भएको स्वास्थ्य बीमा वोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेश संयोजक जिवनाथ खरेलले बताउनुभयो । तर, सम्झौता गरेका स्वास्थ्य संस्थामा पनि आवश्यक पूर्वधार तयारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयनमा हुन सकेको छैन ।
जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट, , बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैंडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको लागि छनोट गरिएको थियो ।
अस्पतालमा कोभिड–१९ संक्रमितको चाप बढ्दो रहेको अवस्थामा अहिले तत्काल कार्यक्रम कार्यान्वयन सम्झौता गर्र्न नसकिएको मध्यविन्दु जिल्ला अस्पतालनका सुचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “सम्झौता गरेपछि त्यसको कार्यान्वयन गर्नुपर्छ । केही समय अगाडी अनलाईन तालिममा आउन भन्नु भएको थियो । अब अस्पतालमा कोभिडको चाप छ को अनलाईनमा जाने ?” सुवेदीले भन्नुभयो –“कर्मचारी व्यवस्थापन, काउन्टर निर्माण धेरै कुराहरु गर्नुपर्छ, सम्झौता मात्रै गरेर कार्यान्वयन गर्न सकिएन भने झन् समस्या हुन्छ ।”
केही समय अगाडी प्रदेश कार्यालयबाट कार्यक्रम कार्यान्वयनको लागि अनलाईन तालिम भएको थियो । तर, सोको आधारमा सेवा प्रवाह गर्न कठिनाई हुने चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार बीमा वोर्डसंग सम्झौता भएपनि अनलाईन सफ्टवयेर जडानको काम बाँकी छ । अवश्यक कागजपत्रहरु पनि पुरा आएका छैनन् ।
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन सम्झौता गरेका स्वास्थ्य संस्थाबाट तत्काल सेवा प्रवाहको लागि प्रदेश कार्यालयबाट आवश्यक समन्वय गरिरहेको र मध्यविन्दु जिल्ला अस्पतालसंग सम्झौताको लागि नियमित छलफल गरिरहेको खरेलले बताउनुभयो ।
कावासोती नगरपालिकाका स्थानीयले मध्यविन्दु जिल्ला अस्पताल र विनयी त्रिवेणी गाउँपालिकाका स्थानीयले चोरमारा प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिनेगरी बीमा फारम भरेका छन् । अन्य स्थानीय तहमा सम्बन्धित पालिकामा नै स्वास्थ्य संस्था तोकिएको छ ।
नवलपुरमा गत फागुन १ गते देखि दर्ता सहयोगी मार्फत जिल्लाका स्थानीयहरुको स्वास्थ्य बीमा गरिएको थियो । जिल्लामा दर्ता सहयोगी मार्फत चैत मसान्त सम्म स्वास्थ्य बीमा गराएकाहरुको यकिन तथ्यांक अझै प्राप्त हुन सकेको छैन । बीमा फारमको अनलाईन इन्ट्रीको काम अन्तिम चरणमा रहेको स्वास्थ्य बीमा कार्यक्रम जिल्ला वोर्ड नवलपुर संयोजक जायश्वर भुसालले बताउनुभयो । प्रारम्भीक तथ्यांक अनुसार जिल्लामा करिव ३० हजार जनाले पहिलो चरणमा स्वास्थ्य बीमा गराएका छन् । कार्यालय व्यवस्थापन, आवश्यक समन्वय लगायतको कारण कार्यान्वयनमा केही ढिलाई भएको उहाँले बताउनुभयो ।
नवलपुरमा स्वास्थ्य बीमा गराएका स्थानीयहरुले पहिलो सेवाको बीमा फारम भर्ने समयमा उल्लेख गरेको स्वास्थ्य संस्थामा जानुपर्छ । यदी थप उपचार आवश्यक भए सो को सिफारिसको आधारमा मात्रै स्वास्थ्य बीमा वोर्डमा सुचित स्वास्थ्य संस्था मार्फत उपचार प्राप्त गर्छन् । इमरजेन्सी सेवा भने सुचित सबै अस्पतालबाट प्राप्त हुन्छ । तर, नवलपुरका स्वास्थ्य संस्थासंग सम्झौता नहुनु, भएपनि कार्यान्वयन नहुनुले यहाँका सेवाग्राही सेवाबाट बञ्चित छन् । अर्को तर्फ अनलाईनमा हुनुपर्ने इन्ट्रीको काम पनि बाँकी हुदाँ थप समस्या छ ।
बीमा गराएका स्थानीयहरु सेवा नपाउदा बीमा प्रतिको विश्वास घट्ने चिन्ता रहेको कावासोती नगरपालिका ६ का दर्ता सहयोगी मणि प्रसाद न्यौपानेले बताउनुभयो । “बीमा गराएको व्यक्ति उपचारको लागि चितवन गएको स्थानीय स्वास्थ्य संस्थाको रिफर खोजेछ । अब हाम्रो जिल्लामा शुरु जो भएको छैन ।” न्यौपानेले भन्नुभयो–“मलाई पनि फोन गर्नु भएको थियो । दुई तिन वटा अस्पताल पुग्नु भएछ । अन्तिममा आफ्नै खर्चमा उपचार गरेर आउनु भ ।” चैत मसान्त सम्मा बीमा गरेका स्थानीयहरुले अहिले दैनिक रुपमा बीमा सम्बन्धी बुझ्नको लागि फोन गरेपनि आफुसंग दिने चित्तबुझ्दो जवाफ नभएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डले विभिन्न समयमा बीमा गरेकाहरुको लागि छुट्टाछुट्टै समयबाट उपचार पाउन शुरु हुने गरी व्यवस्था मिलाएको छ । माघ, फागुन र चैत महिनामा बीमा रकम बुझाउने व्यक्तिले जेठबाट उपचार पाउन शुरु गर्दछ । त्यस्तै बैशाख, जेठ, असार महिनामा रकम बुझाउनेले भदौ महिनाबाट, साउन, भदौ र असोज महिना बीमा रकम बुझाउने ब्यक्तिले मंसिर महिनाबाट र कात्तिक, मंसिर र पौष महिनामा बीमा रकम बुझाउनेले फाल्गुण महिनाबाट उपचार पाउन शुरु हुन्छ ।
पाँच जना सम्म सदस्य भएको परिवारले बीमाको लागि तिन हजार पाँच सय रकम बुझाएर बीमा गराएका हुन् । सो बीमाबाट एक वर्षभर परिवारका सदस्य बिरामी भएमा एक लाख बराबरको उपचार पाउनेछन् । पाँच जना भन्दा बढी संख्या भएका परिवारले प्रति व्यक्ति सात सय रुपैया थप बीमा रकम बुझाएका छन् । पाँच जना बढीको परिवारले प्रति थप व्यक्ति थप २० हजार बराबरको उपचार प्राप्त गर्ने छन् ।

Write your Comment