आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कोरोना संक्रमितलाई हौसला बढाउँदै देवचुलीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु

    प्रकाशित २०७८ जेष्ठ ११, मंगलबार (३ साल अघि)


राजु चापागाई, देवचुली ।

देशभर कोरोना कहर चलिरहँदा देवचुली नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु भने कोरोना संक्रमितको स्याहारमा खटिएका छन् । संक्रमित भएको थाहा भएपछी देवचुलीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु संक्रमितको घरमै पुग्छन् । छिमेकमा संक्रमित देखिँदा टोलमा नै त्रास फैलिएको छ तर जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु त्रास हटाउँदै स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै संक्रमितको घरमा पुग्छन् । स्वास्थ्य अवस्था बुझेपछी उनीहरुले संक्रमितका लागि आवश्यक औषधि र परामर्श समेत दिने गरेका छन् ।

`कोरोना संक्रमित थप भएको थाहा भएपछी संक्रमितको घरमै पुगेर उहाँहरुको स्वास्थ्य अवस्था के कस्तो छ , औषधी भए/ नभएको बुझ्ने गरेका छौँ´, प्रगतिनगर स्वास्थ्य चौकीका अहेव लीला डुम्रेले भनिन्- `आवश्यकलाई औषधी उपलब्ध गराउनुका साथै उहाँहरुको आत्मबल बढाउनका लागी हौसला प्रदान गर्ने गरेका छौँ ।´ एकपटक भेटीसकेको संक्रमितलाई भने दिनहुँ स्वास्थ्य अवस्था बुझ्नका लागि फोन गर्ने र संक्रमितलाई समस्या भए आवश्यक सहयोग गर्ने गरेको डुम्रेले बताईन् ।

देवचुलीमा अहिले ४ जना स्वास्थ्यकर्मीहरु संक्रमित छन् । नगरभित्रका स्वास्थ्यकर्मीलाई चार समूहमा विभाजन गरी संक्रमितलाई जनप्रतिनिधिसँगै घरभेट तथा आवश्यक स्वास्थ्य परामर्श गरिँदै आएको देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताए । संक्रमितलाई घरमै पुगेर भेट्दा उनीहरूले धेरै नै राम्रो मानेको र आफूमा भएको समस्या निर्धक्क बताउँदा आवश्यक सहयोग गर्न सकेको पराजुलीले बताए ।

नगरपालिकाका जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मीसँगै आआफ्नो वडाका संक्रमितहरुको घरदैलो गर्ने र आवश्यक परामर्श लिइरहेको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताईन् । देवचुली नगरपालिकामा कोरोना नियन्त्रणका पर्याप्त स्रोत साधन परिचालन गरिएको उपप्रमुखले तिवारीले बताईन् ।

कोरोना संक्रमितहरुले जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु घरमै आएर परामर्श गर्दा आफूहरुमा आत्मविश्वास बढेको र समाजले आफूलाई गर्ने व्यवहार समेत परिवर्तन गरेको बताए ।

देवचुली नगरपालिकामा दोस्रो भेरीयन्टको कोरोनाबाट २६९ जना संक्रमित भएका छन् भने १६९ जना निको भएका र ४ जनाको मृत्यु भएको छ । ९६ जना सक्रिय संक्रमित रहेका मध्ये ८९ जना होमआईसोलेसनमा र ५ जना दुम्कौली कोभिड अस्पताल साथै  १ जना मध्यबिन्दु अस्पताल र १ जना अन्य  अस्पतालमा भर्ना भएका छन् ।

लक्षण देखिएका र समस्या परेका संक्रमितलाई नगरपालिकाले दुम्कौली कोभिड अस्पतालको व्यवस्था गरेको छ । त्यहाँ १५ वटा कोभिड शय्या बनाईएको छ । नगरपालिका नजिकै रहेको जनज्योति नमुना माविमा २१ शय्याको आईसोलेसन बनाईएको छ ।

Write your Comment