आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा २२ करोडको लागतमा शहरी शासकीय आयोजना शुरु

    प्रकाशित २०७७ फागुन २०, बिहिबार (३ साल अघि)


दयाराम आचार्य,
नवलपुर
कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने भएको छ । कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरि शहरी विकास तथा भवन निर्माण विभाग बिच बिहिबार २२ करोड २ लाख ४१ हजार १३१ रुपैँया बराबरको सम्झौता गरेको छ । विभागका महानिर्देशक नवराज प्याकुरेल र कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुन बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्भौता अनुसार भौतिक निर्माण तथा स्वरोजगारका क्षेत्रमा काम हुने छ । विश्व बैंकको सहयोगमा हुने यस कार्यक्रम तीन वर्ष सम्म चल्ने कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा दुई करोड २० लाख ,दोश्रो वर्ष १३ करोड २१ लख ४४ हजार ६७९ र तेश्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३३९ रुपैया बराबरको काम हुने प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताउनुभयो । गण्डकी प्रदेशमा फलेवास र कावासोती नगरपालिकामा आयोजना संचालन हुने छ ।
कावासोती नगरपालिकामा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन हुनु आफैमा महत्वपूर्ण हुने कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । शहर उन्मुख रुपमा नगरपालिका अगाडी बढिरहेको सन्दर्भमा यसलाई अझै व्यवस्थित बनाउन आयोजनाबाट काम हुने उहाँले बताउनुभयो । यो संगै रोजगारी शिर्जनामा समेत आयोजना फलदायी हुने उहाँले बताउनुभयो । ‘कावासोती नगरपालिकाको शहरी सौन्दर्य कायम गराउदै यसको विकासमा आयोजना फलदायी त हुन्छनै’ नगर प्रमुख पुनले भन्नुभयो–कोभिडको असरले बढेको बेरोजगारीलाई न्यूनिकरणमा समेत ठूलो सहयोग पुग्ने विश्वास छ ।

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना मार्फत कोभिडको असरले बढेको बेरोजगारीलाई न्यूनिकरण तथा पूर्नउत्थान गराउदै रोजगारी र भौतिक विकासलाई जोडने गरि काम हुने कावासोती नगरपालिकाका आर्किटेक इन्जिनिएर पवन रुपाखेतीले बताउनुभयो ।

आयोजनाबाट सडक, नाला निर्माण, खानेपानी र सरसफाई, स्वास्थ्य ,शिक्षा, फोहर व्यवस्थापन, पार्कहरु निर्माण लगाएतका काम गर्न सकिने आर्किटेक इन्जिनिएर रुपाखेतीले बताउनुभयो ।
देशभरका ३३ वटा नगरपालिकामा आयोजना शुरु हुने छ ।आयोजनाले नेपालका रणनैतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम सघन कार्यहरु मार्फत कोभिड १९ पछिको आर्थिक पुर्नलाभलाई गति दिने मुख्य उद्येश्य राखेको छ ।

कावासोती नगरपालिकाले फागुन महिनामा मात्रै २९ करोड २ लाख ४१ हजार १३१ रुपैयाको सम्झौता गरेको छ । यस अघि यसै महिना टरुवा तालको विकासका लागि रु । ७ करोडको सम्झौता भएको थियो ।

Write your Comment