आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा छाडा पशु चौपाया व्यवस्थापन

    प्रकाशित २०८० माघ २०, शनिबार (५ महिना अघि)


मीना कंडेल, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ । देवचुली नगरपालिकाले वडा नम्बर –१० स्थित लोकाहा नदि किनारमा छाडा चौपाया व्यवस्थापन गरेको छ । सो क्षेत्रमा तारबार गरि छाडा चौपायालाई राखिएको छ । नवलपुरका विभिन्न स्थानमा अहिले छाडा चौपाया व्यवस्थापन चुनौती बनेको छ । पूर्व पश्चिममा सडकमा यातायातमा अवरोध सिर्जना गर्ने देखी सडक दुर्घटनासम्मको जोखिम निम्त्याउने गरेका छन् ।

देवचुली नगरपालिकाका स्थानीय सञ्जय काफ्लेलाई छाडा पशु चौपायाबाट बाली जोगाउन निकै समस्या हुने गरेको थियो । उहाँ मात्र नभइ देवचुली नगरपालिकाका स्थानीय बाली जोगाउनका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो । तर अहिले देवचुली नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गरेपछि यो समस्या हटेको छ । छाडा गाईका कारण आफूले लगाएको बालीनालीमा नोक्सानी भएकाले धेरै समस्या हुने गरेको काफ्लेले बताउनु भयो । मिहिनेत गरेर लगाएको बाली सबै राति छाडा गाईले खाएर ,माडेर सखाप पार्थे, रातभर जाग्राम बस्नुपर्ने अवस्था थियो काफ्लेले भन्नुभयो अहिले नगरपालिकाले व्यवस्थापन गरेपछि धेरै राहत भएको छ ।

देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले स्थानीय स्तरमा आउने विविध समस्या समाधानको पहलगर्नु नगरको उत्तरदायित्व भएकाले सोही अनुसार छाडा चौपाया व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिका भित्र रहेका छाडा चौपायाले दैनिक जसो किसानका अन्नबाली नष्ट गरि क्षति पुर्याउने क्रम तीब्र बनेपछि यसको व्यवस्थापन थालिएको हो । व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले गर्दै आएको छ । लोकाहा नदि किनारमा चौपाया व्यवस्थापन गर्दा सात लाख खर्च भएको छ । ”

पशु चौपाया छाडा छाड्दा एकातर्फ बालीनालीमा क्षति पुग्ने अर्को तर्फ राजमार्ग तथा बजारमा यत्र तत्र हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहको छ । जिल्लामा धेरै जसो जर्सी गाई छाडा रुपमा छाड्ने गरेको पाइएको छ । दूधालु गाईले दूध दिन छाडेपछि छाडा रुपमा छाड्ने गरिएको छ । यसै गरि जर्सीगाईको बाच्छोको उत्पादन मूलक कार्यमा प्रयोग नआउने भएपछि पशुपालक किसानले छाडा छाड्ने गरेका छन् । अहिले देवचुली नगरपालिकाले व्यवस्थापन गरेपछि समस्या नभएको देवचुली नगरपालिका वडा नम्बर –१०, का वडा अध्यक्ष रेप्ती कुमार घर्तीले बताउनुभयो ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको कार्य सुरु गरेपछि नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई संकलन भएको थियो । संकलन भएका गाई मध्य केही गाई नगरमा राजश्व तिरेर चितवन स्थित एक फर्मले लगेको उहाँले बताउनुभयो । अहिले करिब १७ वटा गाई छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेका छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ । तारबार गरिएको क्षेत्र भित्र पानीको व्यवस्थापन समेत गरिएको छ । छाडा चौपायाको रेखदेखका लागि एकजना हेरालुको समेत व्यवस्थापन गरिएको वडा अध्यक्ष घर्तीले बताउनुभयो ।

नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरि लोकाहामा राखिएको रेखदेखमा खटिनुभएका नारायण श्रेष्ठले बताउनुभयो । अहिले सामान्य रुपमा तारबार सहित व्यवस्थापन कार्य गरिएको भएपनि पानीपर्दा गाईलाई ओतका लागि केही टहराको समेत आवश्कता रहेको श्रेष्ठले बताउनुभयो ।

Write your Comment