देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगरपालिका कमिटीले रेबिज खोप अभाव सम्बन्धि स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । देवचुली नगर कार्यसमितिका सभापति शेरबहादुर केसी सहितको टोलीले बुधबार देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठमार्फत स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो ।
नगर सभापति केसीद्वारा हस्ताक्षरित पत्रमा हाल देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेबिज खोपको अभावका कारण उपचारका लागि आउने सर्वसाधारण नागरिकहरू गम्भीर समस्यामा परेका छन् भन्ने समाचारहरू प्रति राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । कुकुरले टोक्ने घटनाहरु दिनप्रतिदिन बढ्दो क्रममा रहेको र यस्तो अवस्थामा रेबिज खोपको सहज र निःशुल्क उपलब्धता अत्यावश्यक हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
देवचुली नगरपालिकामा पनि कुकुरको संख्या बढ्दो रहेको र पालिकामा कुकुरहरुको उचित व्यवस्थापन गर्न आवश्यक रहेको जनाइएको छ । खोप सरकारी अस्पतालहरूमा नपाइने तर निजी फार्मेसीहरूमा अत्यधिक मूल्यमा मात्र उपलब्ध हुने गुनासा सर्वसाधारणबाट बारम्बार आइरहेका भन्दै रास्वपा देवचुलीले तत्काल खोपको उपलब्धताको माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयको तर्फबाट देशभर रेबिज खोपको आपूर्ति शीघ्र सुनिश्चित गर्न, सरकारी तथा सामुदायिक अस्पतालहरूमा खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न, खोपको अभाव किन भएको हो भन्ने विषयमा सार्वजनिक रूपमा अनुसन्धान गर्न, यस्ता समस्या भविष्यमा पुनः नदोहोरिउन् भन्ने सुनिश्चित गर्न दीर्घकालीन योजना निर्माण गर्न तत्काल ध्यान दिनका लागि स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गरिएको रास्वपा देवचुलीका सभापति शेरबहादुर केसीले जानकारी दिनुभयो ।