आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

नारायणगढ-बुटवल सडक निर्माणकार्य सुस्त

    प्रकाशित २०७९ श्रावण ११, बुधबार (१ साल अघि)


नवलपुर । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती-१० का माधव सुबेदी बताउनुहुन्छ ।राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुबेदीको भनाइ छ ।

कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला–ठूला खाल्डा बनेका हुन् ।“सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको काम भइरहेकाले रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ”, सुबेदीले भन्नुभयो ।

गैँडाकोट-८ का व्यवसायी शालिकराम सापकोटाले सडक बनिसक्न ढिला हुँदा यात्रुको बिजोग भएको बताउनुभयो । देशकै मुख्य राजमार्गको रूपमा रहेको यो सडकको दुरवस्था हुँदासमेत कसैलाई मतलब नै नभएको उहाँको भनाइ छ । “व्यावसायिक कामका लागि कहिले नारायणगढ त कहिले बुटवल जानुपर्छ”, सापकोटाले भन्नुभयो, “आफ्नै गाडीमा हिँड्यो भने बाटोका कारण कहाँ पुगेर बिग्रिने हो थाहै हुँदैन, सार्वजनिक सवारीसाधन चढौँ भने सामान्य अवस्थामा भन्दा चार गुणा बढी समय लाग्छ ।”

सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकामा अहिले सात घण्टा लाग्ने गरेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं २ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।

पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षातको पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् ।

नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक बिस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

साना–ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल–नारायणगढ सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।

एम्बुलेन्सले सबै खालका बिरामी बोकेर चाँडो अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको भन्दै लामिछानेले बाटोका कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल हुने गरेको बताउनुभयो ।

सडकका खाल्डाखुल्डीका कारण एम्बुलेन्स चलाउन र बिरामीलाई समयमै अस्पताल पुर्‍याउन साह्रै समस्यामा हुने गरेको उहाँको भनाइ छ ।मध्यबिन्दुको चोरमाराबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक वीरबहादुर महतोले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन गुडाउनै समस्या पर्ने गरेको बताउनुभयो ।
रासस

Write your Comment