आज:  २०८२ बैशाख २५, बिहिबार | Thu, 08, May, 2025 Search
FLASH NEWS

देवचुली ६-९ को सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित २०८२ बैशाख २५, बिहिबार (८ घण्टा अघि)


देवचुली। देवचुली नगरपालिकाको वडा नम्बर ६-९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहीबार देवचुली नगरपालिकाको आयोजना र देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली ७ को वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई गरिएको हो । साविक देवचुली गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८१/०८२ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने , उपप्रमुख पार्वता तिवारीले जवाफ दिनुभएको थियो ।

प्रश्नकर्ताले सिंचाई, कृषि, बाटोघाटो, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वनजंगल, वन्यजन्तु तथा छाडा चौपायाबाट परेको जनधनको क्षति, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए । सेवा प्रवाहका विषयमा एउटै कामका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ भनी प्रश्न गरेका थिए भने सेवामुलक भनिएका कृषि शाखा र शाखाले उपलब्ध गराउने वस्तुहरु घुम्ती सेवामार्फत स्थानीयको पहुँचमा सम्वन्धित वडाबाटै वितरण गर्ने परिपाटी मिलाउन आग्रह गरेका थिए ।

नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।

वडा नं. ७ र ८ को वडा कार्यालय परिसरमा भएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष मिनबहादुर सोती मगर, वडा नं. ७ का अध्यक्ष भूमीसरा आले, वडा नं. ८ का अध्यक्ष नूनप्रसाद बाचे मगर र वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटा सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, संघसंस्था, टोलविकास, क्लव, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

 

Write your Comment