आज:  २०८२ बैशाख २३, मंगलबार | Tue, 06, May, 2025 Search
FLASH NEWS

अवरुद्ध भएको दाउन्ने सडक एकतर्फी सञ्चालन

    प्रकाशित २०८२ बैशाख २३, मंगलबार (६ घण्टा अघि)


ज्ञानु पंगेनी । वर्षा भएपछि अबरुद्ध भएको पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो भएपछि मंगलबार बिहानदेखि सवारी आवागमन अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधु नेपालले दिनुभएको जानकारी अनुसार अहिले साँझ ५ बजेबाट सवारी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । अहिले बर्दघाट हुँदै नारायणगढतर्फ आउने गाडी सञ्चालन भएको छ । दुम्कीवास हुँदै बर्दघाट बुटवल जाने गाडी भने सडक चिप्लो भएका कारण चल्न सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउने दाउन्ने पहाडको सडक केही सजिलो भएका कारण यातायात सञ्चालन गर्न सकिएको सूचना अधिकारी नेपालले बताउनुभयो । दाउन्नेको हिलोमा ग्राभेल हालेर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । विस्तारका क्रममा रहेको यस सडक खण्डमा बिहान १० बजेतिर परेको वर्षाले सडक हिलो र चिप्लो भई सवारी आवतजावत गर्न कठिनाइ थियो ।

यो सडक खण्ड निर्माणका लागि अहिले राति ६ घण्टा सडक बन्द गरेर काम भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेका कारण यस क्षेत्रमा सामान्य पानी पर्दा समेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । केही दिनदेखि वर्षा हुनेक्रम जारी रहदा दाउन्ने खण्ड भएर सवारी आवतजावतमा कठिनाई भइरहेको छ ।

Write your Comment