देवचुली । देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजना तथा देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली १६ को वडा कार्यालय परिसरमा मंगलबार देवचुली नगरपालिकाको वडा नं. १६ र १७ को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । नगरपालिकाद्वारा साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको रजहर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८१/०८२ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल र शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । त्यसै गरि देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले समेत वडाबासीको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।
२ दर्जन भन्दा बढी प्रश्नकर्ताले गरेका सवालको जवाफ दिने क्रममा नगर प्रमुख न्यौपानेले नगरपालिकाले नगरबासीको हितका लागि सदैव काम गरिरहेको बताउनुभयो । नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतासँगै विकास निर्माण कार्य गरिरहेको उहाँले बताउनुभयो । त्यसै गरि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले कर्मचारीवाट सेवा प्रवाहमा हुने ढिलासुस्ती, बेवास्ता र अनियमितताका विषय भए सिधै आफुलाई सूचना गर्न आग्रह गर्नुभएको थियो ।
प्रश्नकर्ताले शिक्षा, स्वास्थ्य, बिजुली, बाटोघाटो, बिजुलीको पोल स्थानान्तरण, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वनजंगल, बन्यजन्तु तथा छाडा चौपायाबाट परेको जनधनको क्षति, फोहोरमैला ब्यवस्थापन, प्राकृतिक विपत्ति बाढी,पहिरो, डुवान,कटानका समस्या लगायतका विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए ।
नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत पौडेलले अझै तिनवटा भूगोलमा यस आर्थिक वर्षको सार्वजनिक सुनुवाई गरी नगरपालिकाकै सार्वजनिक सुनुवाई सम्पन्न गर्ने जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत दिवाकार पौडेल, वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।