आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

गैंडाकोट-मौलाकालिकामा केबलकार सञ्चालन

    प्रकाशित २०८० बैशाख १, शुक्रबार (१ साल अघि)


नवलपुर । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी पुर्व गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । आज अर्थात २०८० बैसाख १ गते शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी १ सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपरासी पुर्वका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेर केबलकार शुभारम्भ गरिएको छ । नयाँ बर्ष तथा उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी (आउन र जान समेत) प्रतीब्यक्ती मूल्य ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि प्रतीब्यक्ती ३३० रुपैयाँ, विद्यार्थीहरुको लागि ४१५ रुपैयाँ, जेष्ठ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएका (अपाङ्ग) हरुका लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने समेत जनाएको छ । केबलकारको टिकट मोबाइल एप्लीकेशनमा आईएमई पे डाउनलोड गरेर समेत काट्न सकिने छ ।

एक हजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने अर्थात १० कुइन्टलको क्षमता रहेको छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता मौलाकालिका केबलकार प्रा.लि.(आईएमई समूह) र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको कम्पनीको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने समेत कम्पनीले जनाएको छ ।

झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केबलकारको औपचारिक उदघाटन भने मध्य वैशाखसम्म गर्ने तयारी रहेको छ । केबलकारको माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्दैछ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार होटल सञ्चालन गर्न अझै ५ महिना लाग्नेछ । होटलको टपमा हेलिप्याड रहने छ । ४५ सय जना अट्ने सभाहल, स्वीमिङ्ग पुलसहितको व्यवस्था हुने ढकालले जानकारी दिए ।

Write your Comment