शिवको अर्थ हुन्छ– कल्याण । भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ । त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन् । जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि ।
चन्द्रमासको चौधौँ रात वा औँसीभन्दा एकदिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ । एक वर्षमा १२-१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ— यस शिवरात्रिलाई आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । यस रातमा, उत्तरी गोलार्द्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् । यो यस्तो रात हो, जब प्रकृतिको शक्तिले व्यक्तिलाई आध्यात्मिक शिखरतर्फ धकेलिरहेको हुन्छ । यसैको उपयोग गर्नको लागि, यस परम्परामा हामीले एउटा विशेष उत्सव मनाउन थाल्यौँ, जुन रातभरि चल्दछ । ऊर्जाहरूको स्वाभाविक प्रवाहलाई सहजै माथितर्फ जान दिनको लागि, रातभरि मनाइने यस महा–उत्सवको मूलभूत आधार भनेको आफ्नो मेरूदण्ड वा ढाडलाई सिधा राखेर रातभरि जागा बस्नु हो ।
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । जो मानिसहरू घर गृहस्थमा छन् वा जसमा संसारमा केही गर्ने महत्त्वकाङ्क्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ । घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकाङ्क्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् । तर, तपस्वी र साधकहरूका निम्ति महाशिवरात्रि त्यो दिन हो, जब शिव कैलाश पर्वतमा विलिन भई एक भएका थिए । उनी पर्वत जस्तै बने— पूर्णतया अचल । योग पद्धतिमा, शिवलाई कुनै भगवानको रूपमा पूजा गरिँदैन । बरु, उनलाई आदिगुरु अर्थात् पहिलो गुरु भनिन्छ, जसबाट योगको विज्ञान उत्पत्ति भयो । कैयौँ सहस्राब्दिको ध्यानपछि, एकदिन उनी पूर्णतया स्थिर (अचल) भए । सोही दिनलाई महाशिवरात्रि भनिएको हो । उनीभित्र सबै गतिविधिहरू रोकिए अनि उनी नितान्त स्थिर भए— अतः साधकहरूको दृष्टिमा महाशिवरात्रि स्थिरताको रात हो ।
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ ।
शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ । यसै दिन शिव पार्वतीको विवाह भएको थियो । यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए भन्ने शास्त्रीय मान्यता रहेको छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन् । शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
पूजा गर्ने विधि
भगवानको दर्शन कामना लिएर मात्र गरिन्न । व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ । सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । शिवस्त्रोत्र पाठ, ध्यान, जप, शिवकिर्तन, महिमागान गर्ने वा ‘नमः शिवाय’ नामक पञ्चाक्षरी मन्त्र मात्रको जपले पनि शिव प्रसन्न हुनुहने र इच्छित कामना पूर्ण हुने जनबिश्वास रहेको छ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ । मध्यरात शिवधुनी जगाइने परम्परा रहीआएको छ । ।
शिवधुनी नै किन?
शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन् । व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ । व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए । शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ । ४–४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ । शास्त्रमा यस्तो लेखिएको छ–
फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
यसैबिच श्री पशुपतीनाथ मन्दिरमा बिशेष पूजा अर्चना हुने र दर्शनको लागि लाखौं भक्तजनहरुको घुइचो रहेको छ भने देशै भरका बिभिन्न शक्ती पिठ, मठमन्दिरमा बिहानै देखी दर्शनार्थीको भिड देखिन्छ ।