आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

महाराजा सामुदायिक वनको सामाजिक उत्तरदायित्व : विपन्नलाई सहयोग, विकास निर्माणमा साझेदारी

    प्रकाशित २०८३ कार्तिक १४, शुक्रबार (१ हफ्ता अघि)


देवचुली। देवचुली-१५ मा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समूहले विपन्न लक्षित कार्यक्रमअन्तर्गत देवचुली-१० का दुई जना विपन्न नागरिकलाई आर्थिक सहयोग गरेको छ। समूहले आमबहादुर राना र अन्जु सुबेदीलाई जनही १० हजार रुपैयाँका दरले चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो।


विपन्न वर्गको उत्थान तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले समूहको वार्षिक बजेटअन्तर्गत सामाजिक विकास शीर्षकबाट उक्त रकम प्रदान गरिएको सामुदायिक वनका कोषाध्यक्ष रामप्रसाद पराजुलीले जानकारी दिनुभयो। त्यसैगरी, सामाजिक कार्यमा साझेदारी कार्यक्रमअन्तर्गत धौलागिरी चोकमा गेट निर्माणका लागि १० हजार रुपैयाँ र मिलनटोलमा पेटी निर्माणका लागि ३० हजार रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो।

सहयोग हस्तान्तरण कार्यक्रममा महाराजा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दशरथ भुसालको अध्यक्षतामा समितिका पदाधिकारी, सदस्य तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो। सामुदायिक वन केवल वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नभई समुदायको समग्र विकास तथा विपन्न वर्गको उत्थानमा समेत सक्रिय रहँदै आएको जनाएको छ । संस्थाको स्रोतलाई पारदर्शी रूपमा लक्षित वर्ग र स्थानीय पूर्वाधार विकासमा परिचालन गर्ने नीतिअनुसार सहयोग गरिएको समूहको भनाइ छ।


समूहले उपलब्ध गराएको आर्थिक सहयोगले विपन्न परिवारको जीविकोपार्जनमा राहत पुग्नुका साथै स्थानीय विकास निर्माणका योजनालाई समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Write your Comment



↑