

देवचुली । देवचुली-१७ मा मंसिर ५ गतेदेखि दोस्रो जिल्लास्तरीय वडा अध्यक्ष कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेलमैदानमा प्रतियोगिता गर्न लागिएको हो ।

फारम खेलकुद विकास समितिका अध्यक्ष सुजन सापकोटाको अध्यक्षतामा आज पत्रकार सम्मेलन गरि प्रतियोगिता सम्बन्धि जानकारी गराइएको हो । जिल्लाका विद्यालयबाट कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउने गरि १६ टिमको सहभागितामा प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष सापकोटाले बताउनुभयो । पहिला दर्ता गर्ने विद्यालयलाई सहभागिता गराउने र विद्यालय स्तरमा रहेका नव उदयमान खेलाडीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
देवचुली-१७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेको प्रमुख आतिथ्यता रहेको पत्रकार सम्मेलनमा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष अशोक अधिकारी, वरचुली माविका प्रधानाध्यापक हेराबहादुर केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सन्दिप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था रहेको छ ।
प्रतियोगिताका लागि सबैले सक्दो सहयोग गर्न र प्रतियोगिता सफल बनाउन विद्यालयलाई सहभागी हुन देवचुली-१७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले आग्रह गर्नुभयो । उहाँले वडाले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।