आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

महाराजा सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८३ आश्विन २५, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली-१५ मा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०५३ सालमा स्थापना भई २०५७ सालमा दर्ता भएको वन २०७१ सालमा हस्तान्तरण भएपश्चात वन समुहले बाह्रौं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको हो।

महाराजा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दशरथ भुसालको अध्यक्षतामा भएको साधारण सभामा डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली-१५ का वडा अध्यक्ष सुरेशकुमार रानाभाट, सव डिभिजन वन कार्यालयका अधिकृत वसन्त दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो ।

सभामा अध्यक्ष भुसालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा वार्षिक कार्ययोजना , कोषाध्यक्ष रामप्रसाद पराजुली प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक गोविन्द आचार्यद्वारा प्रस्तुतलेखा प्रतिवेदन उपभोक्ताद्वारा पास गरिएको आयोजकले जनाएको छ । साधारणसभाको बन्द सत्रमा वन संरक्षण, संवर्द्धन तथा सदुपयोग गर्ने, खाली स्थानमा वृक्षारोपण गरि वनको घनत्व बढाउने, वन्यजन्तुका लागि बनाइएको पोखरी तथा पानी खाने स्थान व्यवस्थित गर्ने, सिमाना तारबार तथा मर्मत कार्य गर्ने, विपन्न परिवारका लागि आयआर्जन तथा स्वरोजगार कार्यक्रम संचालन गर्ने, महिला तथा युवाका लागि सीपमूलक तथा क्षमता विकास कार्यक्रम संचालन गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा प्रतिभा विकासका कार्यक्रम संचालन गर्ने, सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने लगायतका विषयमा छ्लफल गरि निर्णय गरिएको वन उपभोक्ता समुहका कोषाध्यक्ष रामप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

साधारण सभाको खुला सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले वन संरक्षण गर्दै प्रचलित कानुन अनुसार वनको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । वनले समयमै साधारणसभा गर्नुपर्ने भन्दै साधारण सभाबाट पास गरिएको वार्षिक कार्ययोजनालाई वन कार्यालयबाट स्वीकृत भएपछी सामाजिक विकास, उद्यम र उत्पादन, संस्था सञ्चालन-व्यवस्थापनमा खर्च-लगानी गर्दै आफ्नै सेवाक्षेत्र भित्रको विकास गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले वनले उपभोक्ताको हितमा रहेर सामाजिक गतिविधि गर्नुपर्ने, वनको सदुपयोग गर्दै उपभोक्ताको हित अनुसार काम गर्नुपर्ने लगायतका विषयमा भनाई राख्दै वनलाई आगामी कार्ययोजनामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

साधारणसभामा वनका पुर्व अध्यक्षहरु, सल्लाहकार, विभिन्न सामुदायिक वनका अध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु, वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो। महाराजा सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष हुमिसरा आलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको सचिव पेमाकुमारी पाण्डेले सहजीकरण गर्नुभएको थियो। देवचुली नगरपालिकाको वडा नम्बर १०, १४, १५ र केही देवचुली ११ का गरि कुल १ हजार १ सय २५ उपभोक्ता सदस्य आबद्ध रहेको वन २८३.३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Write your Comment



↑