

देवचुली । देवचुली-१३ मा रहेको प्रगतिनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा चौंथो नेतृत्व चयन सम्पन्न भएको छ । शनिबार देवचुली-१३ दलदलेस्थित सहारा पार्टी प्यालेसमा साधारण सभा तथा नेतृत्व चयन कार्यक्रम गरिएको हो ।

संस्थाका अध्यक्ष रुमाकला कफ्लेको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक सदस्य तथा जिल्ला कृषि सहकारी संघ लिमिटेड नवलपुरका अध्यक्ष सविना अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि छिमेकी सहकारीका प्रतिनिधि, संस्थाका सल्लाहकार, निर्वाचन समितिका संयोजक तथा सदस्य, विभिन्न उप समितिका पदाधिकारी लगायत शेयर सदस्यको उपस्थिति रहेको थियो।
साधारण सभा तथा नेतृत्व चयन कार्यक्रमको उदघाटनमा अध्यक्ष काफ्लेले प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाको आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । संस्थाले आगामी वर्ष नियमित कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण, साबुन बनाउने तालिम, तरकारी खेती तालिम, अचार बनाउने तालिम, पशुपालन तालिम तथा क्याल्सियम वितरण, तरकारी, घाँसको बीउ वितरण, संचालक र लेखा सुपरिवेक्षण समितिलाई क्षमता अभिवृद्धि तालिम, सहकारी शिक्षा तालिम, सामाजिक सामुदायिक विकास कार्यक्रम अन्तर्गत विद्यालय सहयोग, बीउ पुँजी रकम सहयोग, ज्येष्ठ नागरिक सम्मान, दुर्घटना वा दीर्घरोगबाट पीडित सदस्यहरुलाई सहयोग गर्ने, खाता व्यवस्थापन र प्रविधिको प्रयोग तर्फ मोबाइल बैंकिङ, चेक वितरण, एसएमएस सेवा र नगद रहित कारोबारलाई जोड दिने लक्ष्य राखेको अध्यक्ष काफ्लेले सभामा जानकारी गराउनु भएको थियो ।

साधारण सभामा लेखा समितिका संयोजक बालकुमारी रिमालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका सह-प्रबन्धक रन्जु देवी शर्मा पाण्डेले बाह्र्य लेखापरीक्षणको प्रतिवेदन र प्रबन्धक विमला गैरेले संचालक समितिको तर्फबाट प्रबन्धकको प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभामा विभिन्न विधामा सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । ज्येष्ठ नागरिक सम्मानबाट मेनुका भट्टराई, समूह वृद्धि पुरस्कार कृष्णमाया आले र लालुमाया गौतम, उत्कृष्ट बाल बचतकर्ता पुरस्कार समीक्षा पराजुली, माछापालन गर्ने सदस्य सविना मिया, उत्कृष्ट आयाआर्जन समूहबाट लक्ष्यबति आयाअर्जन समूह, दिदिबहिनी अचार, बति समूह, धितो तर्फ व्यापारबाट तिलिसरा आले, दैनिकी बचत नियमित तर्फ मिरा श्रेष्ठ, धितो तर्फ कृषिबाट खिलकुमारी तामाङ, भैंसी पालन तर्फ यमकला भुसाल, गाईपालन तर्फ पवित्रा शर्मा आचार्य पाण्डे, धितो तर्फ विष्णु घर्ती, बिना धितो तर्फ भैंसीपालनबाट विष्णु भट्टराई, बिना धितो गाईपालन लगानीबाट विमला लामिछाने र सविना घिमिरे साथै उत्कृष्ट अन्तर समूह शत प्रतिशत असुलीबाट अन्तर समूह १०, सालघारी, अन्तरसमुह ३ गैंडी र अन्तर समूह २, तिसघरेलाई साधारण सभामा पुरस्कृत गरिएको थियो ।

संस्थाको बन्दसत्रमा अध्यक्षको प्रतिवेदन, आन्तरिक तथा बाह्र्य लेखा प्रतिवेदन, प्रबन्धकको प्रतिवेदन पास गरेको छ । आज नै संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । चौंथो नेतृत्व चयनबाट गुमा तिवारी भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । निर्वाचित कार्यसमिति त्था लेखा समितिलाई आज नै सपथ ग्रहण गराइएको हो । संस्थाको नयाँ कार्यसमिति चयनका लागि नरदेव न्यौपानेको संयोजकत्वमा सरस्वती अर्याल र कल्पना पराजुली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

साधारण सभाको उदघाटन सत्रमा संस्थाका उपाध्यक्ष कमला भट्टराई शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाको प्रबन्धक विमला गैरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।