

नवलपरासी (पश्चिम) । पाल्हीनन्दनका ६० घरपरिवारलाई आलु र प्राङ्गारिक मल वितरण गरिएको छ । असल छिमेकी नेपालले समुदाय सशक्तीकरण जिविकोपार्जन सुधार र स्वास्थ्य प्रवर्द्धन परियोजना अन्तरगत पाल्हीनन्दन गाउँपालिकाको कृषि विकास शाखा तथा कृषि ज्ञान केन्द्र नवलपरासीसँगको समन्वयमा मौसमी तरकारी खेती प्रवर्द्धनका लागि ६० घरपरिवारलाई कृषि सामग्री वितरण गरेको हो ।

पाल्हीनन्दन गाउँपालिका–२ र ६ मा रहेका गोपालपुर र कुन्दा समूहमा आबद्ध ६० घरपरिवारलाई मौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदानसँगै आलु तथा प्राङ्गारिक मल वितरण गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत पुरन सोतीले जानकारी दिनुभयो । तालिमपछि सहभागी कृषकलाई खेतीमा थप प्रोत्साहित गर्दै व्यावसायिक तथा मौसमी तरकारी उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले प्रत्येक घरपरिवारलाई २५ किलो आलु र ५० किलो प्राङ्गारिक मल उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
कृषकलाई वितरण गरिएको सामग्रीको मूल्य प्रतिघर २ हजार ४ सय ७५ रुपैयाँ रहेको छ। यसअनुसार ६० घरपरिवारलाई वितरण गरिएको कृषि सामग्रीको कुल मूल्य १ लाख ४८ हजार ५ सय रुपैयाँ रहेको जनाइएको छ।

सामग्री वितरण कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी कार्यवाहक उपाध्यक्ष अनामिका हरिजन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसै गरि पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश प्रसाद गुप्ता, असल छिमेकी नेपालका प्रतिनिधि तथा कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषकलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै आफ्नै घर तथा खेतबारीमा मौसमी तरकारी खेती विस्तार गर्न पाल्हीनन्दन गाउँपालिकाकी कार्यवाहक उपाध्यक्ष अनामिका हरिजनले आग्रह गर्नुभएको थियो। कृषि क्षेत्रमा उत्पादन बढाउन तालिमसँगै आवश्यक बीउ तथा मलजस्ता सामग्रीको उपलब्धताले कृषकलाई प्रत्यक्ष सहयोग पुग्ने उहाँको भनाई छ।

असल छिमेकी नेपालले स्थानीय तह तथा कृषि ज्ञान केन्द्रसँगको समन्वयमा कृषकलाई कृषि प्रविधि, उत्पादन प्रणाली तथा मौसमी तरकारी खेतीका विषयमा आवश्यक ज्ञान प्रदान गर्दै आएको जनाएको छ। तालिमपछि प्रोत्साहन सामग्री उपलब्ध गराउँदा कृषकले सिकेको सीपलाई व्यवहारमा लागू गर्न थप सहज हुने संस्थाको अपेक्षा छ। स्थानीयस्तरमा तरकारी उत्पादन बढाउन सके घरायसी उपभोगका लागि बाहिरबाट तरकारी खरिद गर्नुपर्ने अवस्था घट्नुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर कृषकले आम्दानीसमेत गर्न सक्नेछन्। यसले कृषि पेशालाई आत्मनिर्भर र व्यावसायिक बनाउने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गोपालपुर र कुन्दा समूहमा आबद्ध कृषकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले स्थानीय कृषकलाई मौसमी तरकारी खेतीतर्फ थप आकर्षित गर्ने तथा उपलब्ध जमिनको सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने जनाइएको छ ।