

देवचुली । कावासोती १२ मा संचालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगितामा सोमबार एसबी स्पोर्ट्स दलदले विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा एसबी स्पोर्ट्सका विरुद्ध चितवन फुटबल क्लबबिचको सेमिफाइनल खेलमा एसबी स्पोर्ट्स दलदले विजयी भएको हो ।

एसबी स्पोर्ट्सले चितवन फुटबल क्लबलाई ५-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलमा एसबी स्पोर्ट्सका सजिना स्याङ्ताङले ३ गोल र रेखा विष्टले २ गोल गरेका थिए । सोमबारको खेलमा एसबी स्पोर्ट्स दलदलेकी सजिना स्याङ्ताङ म्यान अफ दि म्याच भएकी थिइन् ।
नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई १५/१५ हजार रुपैयाँँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत बुधबार गैंडाकोट फुटबल क्लबका विरुद्ध एसबि स्पोर्ट्स दलदलेबिच फाइनल खेल हुने आयोजकले जनाएको छ ।