आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

देवचुलीमा विद्यालयका चालक तथा सहचालकलाई ट्राफिक सचेतना

    प्रकाशित २०८३ आश्विन १९, सोमबार (१ महिना अघि)


देवचुली। देवचुली नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका चालक र सहचालकलाई ट्राफिक नियम तथा विद्यार्थीको सुरक्षित यात्रासम्बन्धी सचेतना प्रदान गरेको छ। विद्यालय सवारी साधन सञ्चालनका क्रममा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्दै विद्यार्थीलाई सुरक्षित र व्यवस्थित रूपमा विद्यालय आवतजावत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

देवचुली नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाले विद्यालयका चालक तथा सहचालकलाई ट्राफिक नियम, सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी, सडकमा देखिन सक्ने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिनुभएको थियो। विद्यालय बस अन्य सार्वजनिक सवारी साधनभन्दा फरक र संवेदनशील जिम्मेवारीका साथ सञ्चालन गर्नुपर्ने भन्दै प्रशिक्षणका क्रममा चालक तथा सहचालकले विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो। सवारी साधन चलाउँदा गति नियन्त्रण, सडकको अवस्था र ट्राफिक संकेतको पालना, यात्रुको चापअनुसार सावधानी अपनाउने, सवारी साधनको अवस्था नियमित जाँच गर्ने तथा आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने उपायलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। विद्यालय बसमा यात्रा गर्ने अधिकांश विद्यार्थी बालबालिका तथा किशोरकिशोरी हुने भएकाले उनीहरूको सुरक्षामा चालक र सहचालकको भूमिका महत्वपूर्ण हुने नगरपालिकाले जनाएको छ। चालकले सामान्य लापरबाही गर्दा पनि ठूलो दुर्घटना निम्तिन सक्ने भएकाले सवारी सञ्चालनमा अनुशासन, धैर्यता र जिम्मेवारी आवश्यक रहेकोमा कार्यक्रममार्फत सचेत गराइएको थियो।

कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विद्यार्थीको सुरक्षित यात्रालाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो। विद्यालयका चालक तथा सहचालकलाई जिम्मेवार बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। नगर प्रमुख न्यौपानेका अनुसार विद्यालय जाने तथा फर्कने क्रममा विद्यार्थीले सुरक्षित वातावरण पाउनुपर्ने भएकाले विद्यालय सवारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ। विद्यालय व्यवस्थापन, चालक, सहचालक तथा सम्बन्धित निकायबीच समन्वय गरी विद्यार्थीको सुरक्षित आवतजावत सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

देवचुली नगरपालिकाले विद्यालय सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउन यसअघि नै विभिन्न कदम चाल्दै आएको छ। नगरपालिकाले विद्यालयका बसमा सीसीटीभी क्यामेरा जडान गर्नुका साथै विद्यालयका सवारी साधनको प्राविधिक परीक्षणसमेत गरेको जनाएको छ। विद्यालय बसभित्र हुने गतिविधिको निगरानी तथा विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै सीसीटीभी जडान गरिएको नगरपालिकाले जनाएको छ। यस्तै, सवारी साधनको प्राविधिक अवस्था सुरक्षित छ कि छैन भन्ने सुनिश्चित गर्न परीक्षणको व्यवस्था गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि विद्यालय सवारी साधनको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। सवारी साधनको अवस्था, चालक तथा सहचालकको जिम्मेवारी, ट्राफिक नियमको पालना तथा विद्यार्थीको सुरक्षित आवतजावतका विषयमा आवश्यकताअनुसार सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको भनाइ छ।

नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका चालक तथा सहचालकको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख नन्दलाल ढकालले गर्नुभएको थियो।

Write your Comment



↑