आज:  २०८३ कार्तिक २५, मंगलबार | Tue, 10, Nov, 2026 Search
FLASH NEWS

छैठौं जितिया कप महिला फुटबल : गैंडाकोट फुटबल क्लब फाइनल प्रवेश

    प्रकाशित २०८३ आश्विन १९, सोमबार (१ महिना अघि)


देवचुली । कावासोती १२ मा संचालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगितामा आइतबार गैंडाकोट फुटबल क्लब विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा मुक्ति एकेडेमीका विरुद्ध गैंडाकोट फुटबल क्लबबिचको सेमिफाइनल खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो ।

गैंडाकोटले मुक्ति एकेडेमीलाई ट्राइबेकरमा ३-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा गैंडाकोट फुटबल क्लबकी सुशिला केसीले गोल गरेकी थिइन् भने मुक्ति एकेडेमीकी इशा चौधरीले गोल गरेकी थिइन् । आइतबारको खेलमा गैंडाकोट फुटबल क्लबकी गोलरक्षक लक्ष्मी तामाङ म्यान अफ दि म्याच भएकी थिइन् ।

नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई १५/१५ हजार रुपैयाँँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार एएफ चितवनका विरुद्ध एसबि स्पोर्ट्स दलदलेबिच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment



↑