

देवचुली । देवचुलीमा कार्बन लाभ बाँडफाँड र लगानी योजना निर्माणबारे प्रशिक्षण सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरद्वारा देवचुली नगरपालिका-१५ स्थित महाराजा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा ‘कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारी सम्बन्धी एकदिने तालिम’ सम्पन्न गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समूहहरूलाई कार्बन व्यापारबाट प्राप्त हुने लाभको उचित व्यवस्थापन, समन्यायिक बाँडफाँड तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा लगानी योजना निर्माण गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।तालिममा देवचुली–बुलिङटार सब–डिभिजनका वन अधिकृत रमेश बस्नेतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा महासंघका अध्यक्ष मना भण्डारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष कमलप्रसाद बाचे, सचिव सुशील पौडेललगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा देवचुली क्षेत्रका ११ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। महाराजा सामुदायिक वन, घुमाउरी सामुदायिक वन, नमुना महिला सामुदायिक वन, जनचेतना सामुदायिक वन, गोर्खाली सामुदायिक वन, सिर्जना सामुदायिक वन, बन्दीपुर सामुदायिक वन, देउसत खोला सामुदायिक वन, एकता सामुदायिक वन, अमर सामुदायिक वन र बटटाँडी सामुदायिक वन समूहबाट चार–चार जना सदस्य सहभागी हुने गरी तालिम सञ्चालन गरिएको थियो।
सहभागीहरूलाई सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनसँगै वनबाट हुने कार्बन सञ्चिती र त्यसबाट प्राप्त हुन सक्ने आर्थिक लाभलाई समुदायको हितमा कसरी उपयोग गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो। तालिमका क्रममा कार्बन व्यापारको अवधारणा, कार्बन लाभको बाँडफाँड, लाभ प्राप्त गर्ने आधार, समुदायको सहभागिता तथा लगानी योजना निर्माणका प्रक्रियाबारे प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो। कार्बन लाभबाट प्राप्त स्रोतलाई पारदर्शी, न्यायोचित र समुदायका प्राथमिक आवश्यकताअनुसार परिचालन गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सामुदायिक वनहरू वन संरक्षण, जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। पछिल्लो समय वन क्षेत्रले वातावरण संरक्षणसँगै कार्बन सञ्चितीमार्फत आर्थिक लाभ सिर्जना गर्न सक्ने भएकाले त्यसबाट प्राप्त हुने लाभलाई स्थानीय समुदायको हितमा प्रभावकारी रूपमा परिचालन गर्ने विषय पनि महत्वपूर्ण बन्दै गएको छ।
तालिममा सहभागी सामुदायिक वनका प्रतिनिधिहरूले कार्बन लाभसम्बन्धी विषयमा थप जानकारी तथा व्यवहारिक ज्ञान प्राप्त भएको बताएका थिए। विशेषगरी कार्बनबाट प्राप्त हुने लाभलाई समुदायको आवश्यकताअनुसार कसरी योजना बनाएर लगानी गर्ने भन्ने विषयमा तालिम उपयोगी भएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमले सामुदायिक वन उपभोक्ता समूहहरूलाई कार्बन लाभको व्यवस्थापन, समन्यायिक बाँडफाँड र दीर्घकालीन लगानी योजना निर्माणका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गरेको आयोजकको विश्वास छ।