

देवचुली । देव प्रगति युवा समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवचुली-७ स्थित राधाकृष्ण मन्दिर परिसरमा साधारण सभा गरिएको हो ।

सभामा समाजका अध्यक्ष त्रिलोचन पराजुलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । समाजले खेलकुद कार्यक्रमलाई निरन्तरता, जनचेतना तथा सीपमूलक तालिम संचालन, संस्थाको कार्यालय व्यवस्थित, आजिवन तथा साधारण सदस्य विस्तार, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण, समाजको भवन निर्माण गर्ने लगायतका कार्ययोजना उहाँले प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा समाजका कोषाध्यक्ष पुष्पकला गौतमले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक नवराज घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

देव प्रगति समाजका अध्यक्ष त्रिलोचन पराजुलीको अध्यक्षतामा भएको साधारण सभामा देवचुली-७ का वडा अध्यक्ष भुमिसरा थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, वडा सदस्यहरु, समाजका पुर्व अध्यक्ष, सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत आजिवन तथा साधारण सदस्यहरुको उपस्थितिमा साधारण सभा गरिएको हो ।

साधारण सभाको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि थापाले समाजले सक्रिय भएर गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरताको लागि अनुरोध गर्नुभएको थियो । वडाले समाजसँग सहकार्य गर्दै सचेतनामुलक कार्यक्रम गर्ने साथै समाजको भवन निर्माणका लागि नगरपालिकासँग बजेट माग गरि विनियोजन गरिएको बताउनुभयो । देवचुली-९ का वडा अध्यक्ष बलिराम सापकोटा, समाजका संस्थापक अध्यक्ष भुमिलाल लामिछाने, अधिवक्ता कमल चापागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभाको अवसरमा समाजका ५० जना आजिवन सदस्यलाई सम्मान गरिएको छ । त्यसै गरि समाजका हरेक कार्यक्रममा सक्रिय रहेका सदस्य जितुबहादुर खत्रीलाई सम्मान समेत गरिएको हो ।

साधारण सभामा समाजका उपाध्यक्ष कमला रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कुलप्रसाद लामिछानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।