

देवचुली । कावासोती १२ मा संचालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगितामा शुक्रबार मुक्ति एकेडेमी विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा मुक्ति एकेडेमीका विरुद्ध भरतपुर-२४ बिचको खेलमा मुक्ति एकेडेमी विजयी भएको हो ।

मुक्ति एकेडेमीले भरतपुर-२४ लाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । शुक्रबारको खेलमा मुक्ति एकेडेमीकी यशोदा चिराल म्यान अफ दि म्याच भएकी थिइन् ।
नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई १५/१५ हजार रुपैयाँँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत शनिबार एएफसी चितवनका विरुद्ध कावासोती नगरपालिका बिच खेल हुने आयोजकले जनाएको छ ।