

देवचुली । कावासोती १२ मा संचालित छैठौं जितिया कप महिला फुटबल प्रतियोगितामा बिहीबार गैंडाकोट फुटबल क्लब विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा बसन्तपुर युथ क्लबका विरुद्ध गैंडाकोट फुटबल क्लबबिचको खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको हो ।

गैंडाकोटले बसन्तपुर युथ क्लबलाई ९-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा गैंडाकोट फुटबल क्लबकी कल्पना जिम्बाले ७ गोल र दिना नेपालीले २ गोल गरेका थिए । खेलमा गैंडाकोट फुटबल क्लबकी कल्पना जिम्बा म्यान अफ दि म्याच भएकी थिइन् ।
नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई १५/१५ हजार रुपैयाँँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत शुक्रबार मुक्ति एकेडमीका विरुद्ध भरतपुर-२४ बिच खेल हुने आयोजकले जनाएको छ ।