

देवचुली । कावासोती १२ मा छैठौं जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो ।

बुधबार भएको प्रतियोगिताको उदघाटन खेलमा एसबी स्पोर्ट्स दलदले विजयी भएको छ । चैनपुर युनाइटेड क्लबका विरुद्ध एसबी स्पोर्ट्स दलदले बिच भएको खेलमा एसबी स्पोर्ट्स दलदलेले ५-० गोल अन्तरले विजयी भएको छ । खेलमा एसबी स्पोर्ट्स दलदलेकी सजिना तामाङ म्यान अफ दि म्याच भएकी थिइन् ।
नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा सेमिफाइनलम पुग्ने टिमलाई १५/१५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत बिहीबार गैंडाकोट फुटबल क्लबका विरुद्ध बसन्तपुर युनाइटेड क्लबबिच हुने आयोजकले जनाएको छ ।

डायमण्ड युथ सोसाइटीका खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, कावासोती १२ का अध्यक्ष ध्रुव खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थितिमा रहेको थियो ।