आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

गैंडाकोट–२ का बाढी प्रभावित १४० परिवारलाई १४ लाख बराबरको राहत सामग्री हस्तान्तरण

    प्रकाशित २०८३ आश्विन १२, सोमबार (१ हफ्ता अघि)


नवलपुर। गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा आएको बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका १४० घरपरिवारलाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको छ। गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।


जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माका अनुसार नारायणी नदी किनारमा बसोबास गर्दै आएका १४० घरपरिवार बाढीबाट प्रभावित भएपछि उनीहरूलाई नजिकैको महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा सुरक्षित रूपमा राखिएको थियो। सोही स्थानमा नगरपालिका तथा वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो।


प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो।
महासचिव शर्माले बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो। स्थानीय सरकारको अनुरोधमा सेभ द चिल्ड्रेनको सहयोग र संस्थाको समन्वयमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको उहाँले बताउनुभयो।

Write your Comment



↑