आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

भोदी प्रतियोगिता : पुरुषतर्फ असरा थारु युवा समाज र महिलातर्फ ब्रम्हादेव आमा समुहलाई उपाधि

    प्रकाशित २०८३ आश्विन ५, सोमबार (२ हफ्ता अघि)


देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि पुरुषतर्फ असरा थारु युवा समाज र महिलातर्फ ब्रम्हादेव आमा समुहले उपाधि जितेका छन् । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान कावासोती १२ मा शनिबारबाट संचालित प्रतियोगिताको आइतबार समापन गरिएको हो ।

नवलपुर जिल्लाका विभिन्न स्थानहरुबाट महिला पुरुष गरि ६२ टिमको सहभागिता रहेको प्रतियोगितामा आइतबार भएको पुरुषतर्फको फाइनल खेलमा असरा थारु समुह कावासोती १२ प्रथम हुँदै ४० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने कुवारवर्ती युवा समाज कावासोती-११ द्वितीय हुँदै २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि डायमण्ड युथ सोसाइटी कावासोती १२ तृतीय हुँदै १५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने कुमारवर्ती थारु युवा समाज, कावासोती ११ ले सान्त्वना हुँदै ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना टिमले क्रमशः ५९, ५४, ५३ र ५० काँचा निकाल्न सफल भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी असरा थारु युवा समाजका समीर महतो भएका थिए ।

महिलातर्फको फाइनल खेलमा ब्रम्हादेव आमा समुह कावासोती-१२ प्रथम हुँदै २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने नव निर्मित आमा समुह मध्यविन्दु-४ द्वितीय हुँदै १५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि चण्डेश्वरी आमा समूह कावासोती १२ तृतीय हुँदै १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने आवास आमा समुह कावासोती-१५ ले सान्त्वना हुँदै ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्रम्हादेव आमा समुहकी रिमाकुमारी थनेत भएकी थिइन् ।

भोदी खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको समापन सत्रमा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । महिला पुरुषतर्फ दुई/दुई पोलबाट प्रथम र द्वितीय हुने टिमलाई फाइनल खेलमा सहभागी गराइएको थियो । प्रतियोगितामा सबैभन्दा बढी काँचा निकाल्ने समुह विजेता हुने खेलको नियम छ । भोदी खेल थारु समुदायको परम्परागत खेल हो ।

Write your Comment



↑