आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

कावासोती-१२ मा जिल्लास्तरीय भोदी खेल प्रतियोगिता सुरु

    प्रकाशित २०८३ आश्विन ४, आईतबार (२ हफ्ता अघि)


देवचुली । कावासोती-१२ मा आठौं पुरुष तथा दोस्रो महिला जिल्ला स्तरीय भोदी खेल प्रतियोगिता सुरु भएको छ । थारु समुदायको अनन्त पर्व र थारु नारीहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी, कावासोती-१२ राजमन्दिरको आयोजनामा शनिबारबाट राजमन्दिर खेल मैदानमा महिला तथा पुरुष भोदी खेल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले समुदघाटन गर्नुभएको हो ।


थारु संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले परम्परागत भोदी खेल प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगिताका संयोजक रण बहादुर थनेतको अध्यक्षतामा भएको समुदघाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती-१२ का वडा अध्यक्ष ध्रुव खनाल, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ७० भन्दा बढी पुरुष तथा महिला समुहहरुको सहभागिता रहेको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ४० हजार, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र चौथो हुने टिमले रु. ५ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम हुने टिमले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ, तृतीयले १० हजार रुपैयाँ र चौथो हुने टिमले ५ हजार रुपैयाँँ नगदसहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो।

प्रतियोगिताको समुदघाटनको अवसरमा राष्ट्रिय फुटबल खेलाडी फागुराम थारुलाई सम्मान गरिएको छ । थारुले खेल मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबललाई चिनाउन योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

Write your Comment



↑