

नवलपुर । हुप्सेकोट-६ स्थित पेलागा भिरबाट निरन्तर धुवाँ निस्किरहेको विषयमा अब विशेषज्ञ टोलीले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने भएको छ। पेलागा भिरबाट बारुदजस्तो गन्ध आउने धुवाँको मुस्लोसँगै केही आवाज र आगोसमेत देखिएको विषयमा स्थानीयस्तरमा चासो बढ्दै गएपछि नवलपुर-१ का सांसद राजन गौतमले प्रतिनिधि सभाको सदनमा विषय उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो।
यसै विषयलाई लिएर नवलपुर-२ का सांसद मनिष खनाल सहित खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नापित लगायत सम्बन्धित विज्ञहरूसँग सोमबार छलफल भएको र छलफलपछि घटनाको वास्तविक प्रकृति, वैज्ञानिक कारण तथा सम्भावित जोखिम पहिचान गर्न विशेषज्ञ टोलीलाई पेलागा क्षेत्रमा पठाउने निर्णय भएको सांसद राजन गौतमले जानकारी दिनुभयो ।
सांसद गौतमका अनुसार खानी तथा भूगर्भ विभागका अधिकारी प्रकाश लुईटेलको नेतृत्वमा प्राविधिक टोली आज पेलागा क्षेत्रमा पुग्नेछ। टोलीमा धौवादी आइरन कम्पनी लिमिटेडका जियोलोजिस्ट, खानी तथा भूगर्भ विभागका भूगर्भविद्, पेट्रोलियम परियोजनाबाट एक जना भूगर्भविद् तथा नास्टबाट एक जना विशेषज्ञ सहभागी हुनेछन्।
आवश्यक उपकरणसहित घटनास्थल पुग्ने टोलीले धुवाँ तथा आगो देखिएको क्षेत्रको स्थलगत निरीक्षण, परीक्षण र वैज्ञानिक अनुसन्धान गर्नेछ। अध्ययनपछि पेलागा भिरबाट धुवाँ तथा आगो देखिनुको वास्तविक कारण, त्यसको प्रकृति र सम्भावित जोखिमबारे तथ्यगत जानकारी प्राप्त हुनेछ। पछिल्लो समय पेलागा भिरबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासीमा यसको कारण र सुरक्षाबारे चासो बढेको छ। विशेषज्ञ टोलीको स्थलगत अध्ययनले घटनाबारे फैलिएका विभिन्न अनुमानलाई तथ्यमा आधारित निष्कर्षतर्फ लैजाने अपेक्षा गरिएको छ।