

कावासोती । नवलपुर जिल्ला तेक्वान्दो संघले जिल्लामा तेक्वान्दो खेलसम्बन्धी गतिविधिलाई थप व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले वेब एप्लिकेशन सञ्चालनमा ल्याएको छ। संघको आयोजनामा शनिबार कावासोती–२ स्थित कावासोती खानेपानी हलमा वेब एप्लिकेशन उद्घाटनसँगै नेपाल तेक्वान्दो संघ प्रवेश तथा डान प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकीका सचिव तेज कुँवरसहित पाँच वटा डोजाङका २१० जना खेलाडी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन्। नयाँ खेलाडीलाई संघमा औपचारिक रूपमा आबद्ध गराउँदै तेक्वान्दो खेलको संस्थागत विकास र विस्तारमा जोड दिइएको आयोजकले जनाएको छ।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य-सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव हेमन्त डाँगी, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, नेपाल तेक्वान्दो संघका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, प्रशिक्षक, डोजाङ प्रतिनिधि तथा खेलाडीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संघको नयाँ वेब एप्लिकेशनको औपचारिक उद्घाटन गर्दै जिल्लामा तेक्वान्दो खेलसँग सम्बन्धित सूचना तथा गतिविधिलाई डिजिटल माध्यमबाट सहज रूपमा सार्वजनिक गर्ने प्रयासको सुरुवात गरिएको हो। वेब एप्लिकेशनमार्फत जिल्लामा सञ्चालन हुने प्रतियोगिता, प्रशिक्षण, खेलाडी तथा संघका गतिविधिसँग सम्बन्धित विभिन्न जानकारी प्राप्त गर्न सकिने संघले जनाएको छ।
जिल्ला अध्यक्ष राजु भुसालले प्रविधिको प्रयोगमार्फत संघका गतिविधिलाई थप व्यवस्थित बनाउँदै खेलाडी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वेब एप्लिकेशन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले नवलपुरमा तेक्वान्दो खेलप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै नयाँ प्रवेश गरेका प्रशिक्षक, खेलाडी तथा जिल्लामा रहेका विभिन्न डोजाङसँग सहकार्य गरेर खेलको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिइने बताउनुभयो। “जिल्लामा नवप्रवेश गर्नुभएका खेलाडी तथा सबै डोजाङसँग सहकार्य गर्दै तेक्वान्दो खेललाई थप व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने हाम्रो उद्देश्य हो,” अध्यक्ष भुसालले बताउनुभयो।

कार्यक्रममा डान प्रमाणपत्रसमेत वितरण गरिएको थियो। प्रमाणपत्र वितरण तथा नयाँ खेलाडीको संघ प्रवेशले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने आयोजकको विश्वास छ। नवलपुरमा तेक्वान्दो खेलको आधार विस्तार हुँदै गएको अवस्थामा संघले प्रविधिको प्रयोगलाई समेत जोड दिँदै गतिविधि सञ्चालन गर्न थालेको हो। पाँच वटा डोजाङका २१० खेलाडी संघमा प्रवेश गरेसँगै जिल्लामा तेक्वान्दो खेलाडीको संस्थागत सहभागिता अझ विस्तार हुने अपेक्षा गरिएको छ। संघले आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा तेक्वान्दो खेलको प्रशिक्षण, प्रतियोगिता तथा खेलाडीको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।