

नवलपरासीकी एक युवतीलाई अपरिचित व्यक्तिबाट फेसबुकमा ‘फ्रेण्ड रिक्वेष्ट’ आउँछ। केही हप्ताको मिठो कुराकानी, भिडियो कल र उपहारपछि, त्यही व्यक्तिले पैसा नतिरे उनका निजी तस्बिरहरू परिवारलाई पठाउने धम्की दिन थाल्छ। अर्कोतर्फ, कलेजमा पढ्ने एक युवकलाई टेलिग्रामको एउटा “इन्भेष्टरस् ग्रुप”मा जोडिन्छ। अरूले नाफा कमाएको देखेर उनले पनि केही रकम लगानी गर्छन्, तर नाफा देखाउनेहरू लगायत सिंगो समूहै सुरुदेखि नै झुटो रहेछ भन्ने थाहा पाउँछन्। एक अनुभवी प्राध्यापकले विदेशमा लोभलाग्दो शिक्षण पदको प्रस्ताव पाउँछन्। प्रस्ताव पत्र उनकै बायोडाटासँग हुबहु मिल्दोजुल्दो लेखिएको हुन्छ, तर पछि थाहा हुन्छ, त्यो त उनैलाई भिसा र प्रक्रिया शुल्कको नाममा पटक-पटक ठग्न बनाइएको जाल रहेछ। कसैलाई “भन्सारमा महँगो पार्सल रोकिएको छ” भन्ने म्यासेज आउँछ, लिंकमा एक क्लिक गर्नेबित्तिकै मिनेटभित्रै फोन, फेसबुक र बैंक खाता सबै अर्काैको नियन्त्रणमा पुग्छ। एक विद्यार्थीले टिकटक पसलमा देखेको सामानको लागि अग्रिम रकम तिर्छन्, भोलिपल्टै त्यो पेज हराउँछ, र उजुरी गर्दा पैसा पहिल्यै देशबाहिर पुगिसकेको जानकारी आउँछ। कसैको पूर्व-प्रेमीले सार्वजनिक समूहमा पुराना च्याट लिक गर्छ। कसैको बैंक ओटीपी नक्कली ग्राहक सेवा कल मार्फत अर्कैले लगिसकेको हुन्छ, र साँझसम्ममा बैंक ब्यालेन्स रित्तिसकेको हुन्छ।
यी अब दुर्लभ घटना रहेनन्। यी झन्डै सामान्य हुँदै गइरहेका छन् र यही कुराले हामीलाई चिन्तित बनाउनुपर्छ।
घटना भइसकेपछि नै वास्तविक क्षति सुरु हुन्छ। पहिलो त पैसा वा कमाइ हो, केही मिनेटमै सकिन्छ। कहिलेकाहीँ त महिनौंको तलब वा वर्षौंको बचत नै। त्यसपछि पहिचान चोरीको समस्या आउँछ। खाता ह्याक हुन्छ, तस्बिरहरू अनुमति बिनै प्रयोग हुन्छन्, नगरेको काम आफ्नै नाममा जोडिन्छ। तर बैंक स्टेटमेन्ट र सामाजिक सञ्जालमा नदेखिने कुरा भनेको यसपछि आउने लाज, समाजले थाहा पाउलान् भन्ने डर, निद्रा नलाग्ने रातहरू, र परिवारलाई समेत भन्न नसक्ने अवस्था हो। “उनीहरूले के सोच्लान्”, “बा-आमालाई कस्तो लाग्ला” भन्ने त्रास। कतिपयका लागि त यो कुरा धेरै टाढासम्म पुग्छ। यस्ता घटनापछि युवाले आत्महत्याको प्रयास गरेका घटना नेपालमा नौलो होइनन्, र वास्तवमा पैसा गुमेको भन्दा यही कुराले हामीलाई बढी डरलाग्नुपर्छ।
यी सबैको सबैभन्दा बढी जोखिममा पर्ने वर्ग भनेको हामीले पर्याप्त सुरक्षा दिन नसकेको, सतर्कता जगाउन नसकेको समूह नै हो । डिजिटल संसारमा तयारी नपुगी चाँडै प्रवेश गरेको १५ देखि २५ वर्ष उमेर समूहका युवा-युवती। यही उमेर समूहले आफ्नो लगभग सम्पूर्ण सामाजिक जीवन अनलाइनमै बिताउँछ, नयाँ एपहरूमा सबैभन्दा बढी सक्रिय हुन्छ, स्क्रिनमार्फत भेटेका अपरिचितलाई सजिलै विश्वास गर्छ, र, साँच्चै भन्नुपर्दा, कानूनले के भन्छ वा गलत भएमा कहाँ जानुपर्छ भन्नेबारे सबैभन्दा कम जानकार हुन्छ। साथै, यही उमेरमा प्रतिष्ठा र “मानिसले के भन्लान्” भन्ने कुराले सबैभन्दा बढी महत्त्व राख्छ, जसलाई धेरै ठगहरू र दुर्व्यवहार गर्नेहरूले आफ्नो सबैभन्दा ठूलो हतियार बनाउँछन्। यसबाहेक, यही समूह भावनात्मक रूपमा सबैभन्दा अस्थिर, आर्थिक रूपमा दबाबमा, र जोखिमप्रति सबैभन्दा संवेदनशील पनि हुन्छः सजिलै फकाइने र फसाइने। यही कारणले गर्दा संस्थापक आस्मा अर्यालको अगुवाइमा सञ्चालित Nyaya Connectsले JCYCN, PPDC Nepal र SDG Studio को सहकार्यमा यस वर्ष “डिजिटल अधिकार तथा साइबर सुरक्षा” (Digital Rights & Cyberspace Safety) जनचेतनामूलक शृंखला सुरु गर्यो।
यसको मूल भावना सरल छ। मानिसले नबुझेको कुराको लडाइँ लड्न सक्दैनन्, र उजुरी दिन मिल्छ भन्ने नै थाहा नभएको कुरा उजुरी गर्न सक्दैनन्। त्यसैले सबैले भनिरहने “अनलाइनमा सावधान रहनुहोस्” जस्तो कुरा मात्र दोहोर्याउनुको सट्टा, जुन कसैले पनि व्यवहारमा उतार्दैन, हामीले सहभागीहरूलाई कानूनले वास्तवमा के सुरक्षा दिन्छ, र घटना घटेकै क्षणमा के गर्न सकिन्छ भन्ने कुरा प्रस्ट पार्ने प्रयास गर्यौं।
पहिलो सत्र ०४ भाद्र २०८३मा “अनलाइनमा तपाईंको अधिकार के हो?” (What Are Your Rights When Online?) शीर्षकमा सम्पन्न भयो। जसमा नेपाली कानूनअन्तर्गतको गोपनीयताको हक र सूचनाको हकका आधारभूत पक्ष, विशेषतः संविधानको धारा २८ र गोपनीयता ऐन २०७५ बारे छलफल गरियो। सूचनाको हक पत्रकार, कानून व्यवसायी वा अन्य विशेषाधिकारप्राप्त व्यक्तिका लागि मात्र नभई, एक सामान्य नागरिकका लागि पनि कसरी उपयोगी हुन्छ भन्ने कुरा प्रष्ट पारियो।
दोस्रो सत्र २१ भाद्र २०८३ मा सम्पन्न भयो, जसमा साइबरबुलिङको विषयमा थप गहिराइमा प्रवेश गरियो। यसलाई कसरी चिन्ने, कहाँ उजुरी दिने, र विद्युतीय कारोबार ऐनअन्तर्गत पहिल्यैदेखि अवस्थित कानूनी सुरक्षा के-के छन् भन्ने कुरामा चर्चा गरियो। नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक आफ्नै अनुभवका आधारमा उजुरी प्रक्रिया व्यवहारमा कसरी काम गर्छ भनेर व्याख्या गरे, केवल सैद्धान्तिक जानकारी मात्र दिएर होइन।
दुवै सत्रको एउटै मूल सन्देश थियो। यदि के गर्ने भन्ने थाहा छ भने, तपाईं यी कुराहरूअगाडि असहाय हुनुहुन्न। ढिलो गरी उजुरी दिनुभन्दा छिटो उजुरी दिनु राम्रो हुन्छ। एक्लै बोक्नुभन्दा विश्वासिलो मानिससँग कुरा गर्नु राम्रो हुन्छ। गलत व्यक्तिलाई विश्वास गर्नु, वा गलत लिंकमा क्लिक गर्नु जस्ता गल्ती भइहाल्यो भने पनि त्यसले पीडितलाई दोषी बनाउँदैन।
कृपया यो सम्झनुहोस्: यो कुरा “अरू कसैलाई मात्र हुन्छ” भन्ने होइन। फोन र इन्टरनेट भएको जो कोहीसम्म यो पुग्न सक्छ। महत्त्वपूर्ण कुरा भनेको उम्किने बाटो छ भन्ने थाहा हुनु हो, र सहयोग माग्नु लाजको कुरा होइन बरु चुप लागिरहनु चाहिँ वास्तविक खतरा हो। यदि तपाईं वा तपाईंको चिनजानको कोही आत्महत्याको विचारसँग जुधिरहनुभएको छ भने, सहयोग उपलब्ध छ। नेपालको राष्ट्रिय आत्महत्या रोकथामको २४ घण्टै खुला रहने निःशुल्क हेल्पलाइन ११६६ मा समपर्क गर्न सक्नुहुन्छ।
यदि तपाईं वा तपाईंको चिनजानको कोही साइबरबुलिङ, ब्ल्याकमेल, ठगी, वा अन्य कुनै साइबर अपराधको सिकार हुनुभएको छ भने, नेपाल प्रहरी साइबर ब्युरोमा सम्पर्क गर्न सक्नुहुन्छ : ९८५१२८६७७०/९८५१२८६७७१, [email protected], वा अनलाइनमा cyberbureau.nepalpolice.gov.np/report-cyber-crime मार्फत अथवा आफ्नो नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्।