आज:  २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026 Search
FLASH NEWS

युवा तथा खेलकुदमा देवचुलीको सक्रियता : प्रतियोगितादेखि प्रशिक्षण र राष्ट्रियस्तरको सफलतासम्म

    प्रकाशित २०८३ भाद्र २५, बिहिबार (३ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिता, प्रशिक्षण, युवा लक्षित कार्यक्रम तथा खेलकुद गतिविधिलाई निरन्तरता दिएको छ । नगरपालिकाको युवा तथा खेलकुद विकास समिति तथा वडा तहका युवा तथा खेलकुद विकास समितिको समन्वयमा वर्षभरि विभिन्न खेल विधाका प्रतियोगिता सञ्चालन भएका हुन् ।

२६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तरमाध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितासँगै नगर रंगशालामा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको थियो । वडा नम्बर १, २, ५, ७, १०, १६ र १७ का महत्वपूर्ण स्थानमा सरसफाइ तथा वडा नम्बर ४ मा मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

वर्षभरि फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, दौड, बुद्धिचाल, कराते लगायतका विभिन्न खेलका प्रतियोगिता सञ्चालन भए । हरितालिका तीजको अवसरमा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता, वडा तथा नगरस्तरीय फुटबल प्रतियोगिता, पाँचौँ मेयर कप फुटबल, दोस्रो देवचुली गोल्डकप लगायतका प्रतियोगिता आयोजना भएका थिए । त्यस्तै, देवचुली नगरपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड, जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड, विद्यालयस्तरीय तथा अन्तरसंस्थागत फुटबल प्रतियोगिता, पुरुष तथा महिला भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता र विभिन्न खुला प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेका थिए ।

खेलकुदमा उल्लेखनीय उपलब्धि
देवचुलीका खेलाडीहरूले जिल्लादेखि प्रदेशस्तरसम्म उल्लेखनीय सफलता हासिल गरेका छन् । १८औँ नवलपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ मा देवचुलीले ११ स्वर्ण, ८ रजत र १२ कास्य पदक जित्न सफल भएको थियो । स्वर्ण पदक जित्ने खेलाडीमा ३ हजार मिटर दौडतर्फ प्रकृति लुङ्गेली र डिलबहादुर राना, ८ सय मिटरतर्फ प्रकृति लुङ्गेली र शक्ति खनाल, ४ सय मिटरतर्फ सेनु परियार तथा तेक्वान्दोतर्फ समर्पण बस्याल रहेका छन् । त्यस्तै, करातेमा सिम्रन क्षेत्री, सजल सारू र सम्राट सुनारले स्वर्ण पदक जितेका थिए । महिला भलिबलतर्फ देवचुलीका खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । यस्तै, कबड्डीमा समेत नगरका खेलाडीहरूले सफलता प्राप्त गरेका छन् ।

पितू स्मृति ट्रिनिटी यू–१६ महिला कप फुटबल प्रतियोगितामा देवचुलीको नगरस्तरीय टोली प्रथम हुन सफल भएको थियो । विजेता टोलीलाई नगरपालिकाले नगदसहित सम्मानसमेत गरेको थियो । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको पालिकास्तरीय यू–१६ छात्र तथा छात्रा फुटबल प्रतियोगितामा देवचुलीका दुवै टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा देवचुलीको यू–१६ छात्रा टोलीले लगातार दोस्रो पटक उपाधि जित्दै जिल्ला प्रथम हुन सफल भएको छ ।

दौडदेखि क्रिकेटसम्म प्रदेशस्तरीय सफलता
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय १० किलोमिटर तथा ५ किलोमिटर महिला/पुरुष दौड प्रतियोगितामा नवलपुरको प्रतिनिधित्व गरेका देवचुलीका विद्यार्थीले समेत उत्कृष्ट प्रदर्शन गरेका छन् । सकलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत प्रकृति लुङ्गेली १० किलोमिटर दौडतर्फ प्रथम हुँदा केशमाया ढेगा ५ किलोमिटर दौडतर्फ सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी थिइन् ।

त्यस्तै, प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा भएको नेशनल स्कुल च्याम्पियनसिप विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा देवचुली–७ स्थित भीमसेन आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशतर्फ प्रथम हुन सफल भएको थियो ।प्रतियोगितामा रिदम रिजाल, रजत भुर्तेल, सुशील भुसाल, शैलेश काफ्ले, दीप्सन भुर्तेल, सुशान्त भुसाल, समृद्ध भुसाल, सुजन पराजुली, अभिक गौतम, सुप्रिम न्यौपाने, प्राञ्जल पौडेल, आरोग्य पोखरेल, आर्यन भुर्तेल र पंकज यादव लगायतका खेलाडी सहभागी थिए । टोलीको प्रशिक्षकका रूपमा रोयल क्रिकेट एकेडेमीका सञ्चालक सन्तोष न्यौपाने तथा व्यवस्थापकका रूपमा भीमसेन आदर्श माध्यमिक विद्यालयका शिक्षक नवराज पौडेल रहेका थिए ।

प्रशिक्षण र पूर्वाधारमा जोड
नगरपालिकाले प्रतियोगितासँगै खेलाडी उत्पादन तथा क्षमता विकासमा समेत जोड दिएको छ । २०८३ वैशाख ५ गतेदेखि असार ५ गतेसम्म ६० दिनको क्रिकेट तथा फुटबल नगरस्तरीय प्रशिक्षण सञ्चालन गरिएको थियो । फुटबलतर्फ जनज्योति माध्यमिक विद्यालय–१४ र देवचुली माध्यमिक विद्यालय–१६ को खेलमैदान तथा क्रिकेटतर्फ रोयल क्रिकेट एकेडेमी–१० मा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

यसैगरी, तेस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता, उपमेयर कप पुरुष तथा महिला भलिबल, विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता, वडा अध्यक्ष कप तथा अध्यक्ष कप फुटबल प्रतियोगिता, रेफ्री सेमिनार तथा कराते प्रतियोगितालगायतका गतिविधि सञ्चालन भएका थिए । रेफ्री सेमिनारमार्फत नयाँ रेफ्री उत्पादन गर्ने प्रयाससमेत गरिएको थियो । नगरका विद्यालयहरूलाई समेटेर कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

युवालाई खेलसँगै सामाजिक गतिविधिमा जोड
युवा तथा खेलकुद क्षेत्रलाई केवल प्रतियोगितामा सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोडिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रमलगायतका गतिविधि सञ्चालन भएका थिए ।देवचुली–१ को केउरानी चोकमा वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको ट्राफिक सचेतना कार्यक्रममा सुरक्षित यात्रा, सडक अनुशासन, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका विषयमा सर्वसाधारणलाई सचेत गराइएको थियो ।

त्यस्तै, ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा घैँटो फुटाउने, म्युजिकल चियर तथा ह्विलचियर दौड प्रतियोगिता आयोजना गरिएको थियो । राष्ट्रिय युवा नीति २०८२ तथा आगामी युथ भिजनका विषयमा समेत छलफल कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय युवा परिषद्को आयोजनामा तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको कार्यक्रममा युवाका नीति तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।

समग्रमा, आर्थिक वर्ष २०८२/०८३ मा देवचुली नगरपालिकामा युवा तथा खेलकुदका क्षेत्रमा भएका गतिविधिले स्थानीयस्तरमा खेलकुदको वातावरण विस्तार गर्नुका साथै विद्यालयदेखि जिल्ला तथा प्रदेशस्तरसम्म प्रतिभावान् खेलाडी पहिचान र विकासमा योगदान पुर्‍याएको देखिन्छ । प्रतियोगिता, प्रशिक्षण, सम्मान तथा सामाजिक गतिविधिलाई एकसाथ अघि बढाउँदै नगरपालिकाले आगामी दिनमा खेलाडी उत्पादन र खेलकुद पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Write your Comment



↑